भारत, जेठ ।
भारत असमको जोरहाट एयर फोर्स स्टेशनमा शनिबार भारतीय वायु सेनाको एएन–३२ सैन्य यातायात विमान दुर्घटनाग्रस्त हुँदा दुई अधिकारी र दुई अग्निवीरवायुसहित पाँच वायुसेना जवानको मृत्यु भएको छ ।
भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा ज्यान गुमाउनेहरूको विवरण सार्वजनिक गर्दै गहिरो दुःख व्यक्त गरेको छ ।
मृतकहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन् ।
यसअघि दुर्घटनापछि भारतीय वायु सेनाका प्रवक्ता विङ कमाण्डर जयदीपले जोरहाट एयर फोर्स स्टेशनमा एएन- ३२ विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेका थिए ।
वायु सेनाका अनुसार विमान अवतरण (ल्याण्डिङ) गर्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनापछि विमानमा आगलागी समेत भएको थियो । घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी गठन गरी अनुसन्धान सुरु गरिएको छ ।
वायु सेनाले के भन्यो ?
भारतीय वायु सेनाले एक्समा लेखेको छ, असमको जोरहाटमा भएको एएन- ३२ विमान दुर्घटनामा पाँच वायुसेनाकर्मीको निधन भएकोमा हामी गहिरो शोक व्यक्त गर्दछौं ।
वायु सेनाले थप भनेको छ, स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमले कर्तव्य निर्वाहका क्रममा सर्वोच्च बलिदान दिएका छन् ।
भारतीय वायु सेना शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा उनीहरूसँग दृढतापूर्वक उभिएको छ ।
दुर्घटनास्थलमा उद्धार तथा व्यवस्थापन कार्य जारी रहेको र प्रारम्भिक अनुसन्धान पनि भइरहेको वायु सेनाले जनाएको छ । अनुसन्धानको निष्कर्ष नआउँदासम्म कुनै पनि अड्कलबाजी नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
एएन -३२ विमान के हो ?
एएन - ३२ सोभियत संघकालीन (हाल युक्रेनको एण्टोनोभ डिजाइन ब्युरोद्वारा विकसित) दुई इन्जिनयुक्त टर्बोप्रप सैन्य यातायात विमान हो । यो भारतीय वायु सेनाको महत्वपूर्ण विमानमध्ये एक हो ।
यसको प्रयोग सैनिक तथा सामग्री ढुवानी, राहत सामग्री पुर्याउने, दुर्गम क्षेत्रमा आपूर्ति गर्ने तथा प्यारासुटरहरूलाई हवाईमार्फत उतार्ने कार्यमा गरिन्छ । - अन्नपूर्णबाट