२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि

सोमवार , जेठ ११, २०८३

काठमाडौँ, जेठ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अमेरिकी डलर कमजोर हुनु तथा कच्चा तेलको मूल्य घट्नुका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित हुँदा बहुमूल्य धातुको मूल्य बढेको हो।

आज सुनको मूल्य ०।७९ प्रतिशत अर्थात् ३६।३२ डलरले वृद्धि भएर प्रतिऔंस ४ हजार ५६१ डलर पुगेको छ। डलर कमजोर हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन सस्तो पर्ने भएकाले माग बढेको विश्लेषकहरूले बताएका छन्।

त्यस्तै कच्चा तेलको मूल्य घट्दा मुद्रास्फीतिको दबाब कम हुने अपेक्षाले पनि सुनको मूल्यलाई समर्थन गरेको छ। अमेरिका–इरान शान्ति वार्तामा सम्भावित प्रगतिका सङ्केत देखिएपछि बजारमा आशावाद बढेको छ, जसले तेल आपूर्तिको प्रमुख मार्ग मानिने स्ट्रेट अफ हर्मुज पुनः खुल्ने सम्भावना बढाएको र त्यसको प्रभाव तेल बजारमा परेको बताइएको छ।

यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल कुनै सम्झौता नहुने सङ्केत दिएका कारण बजारमा अझै अनिश्चितता कायम रहेको छ। विश्लेषकहरूका अनुसार तेलको मूल्य घट्दा मुद्रास्फीति नियन्त्रणमा आउने अपेक्षा भए पनि उच्च ब्याजदर कायम रहने सम्भावनाले सुनको मूल्य वृद्धिलाई सीमित गर्न सक्छ। यसैबिच अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य २।३४ प्रतिशत अर्थात् १।८६ डलरले वृद्धि भएर प्रतिऔंस ७७।७ डलर पुगेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार