२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

इजरायल - लेबनानबीच युद्धविराम : ' मे २९ देखि सैन्य वार्ता हुने '

दुवै देश ४५ दिने युद्धविरामका लागि सहमत

शनिवार , जेठ २, २०८३

 

वासिङ्टन डीसी, जेठ ।

इजरायल र लेबनानबीच पुनः एकपटक युद्धविराम गराउन अमेरिका सफल भएको छ। दुवै देश ४५ दिने युद्धविरामका लागि सहमत भएको अमेरिकाले घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले उल्लेख गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार, वासिङ्टन डीसीमा दुई दिनसम्म चलेको तेस्रो चरणको सघन वार्तापछि इजरायल र लेबनान युद्धविरामको अवधि बढाउन सहमत भएका हुन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटका अनुसार, आगामी मे २९ तारिखदेखि पेन्टागनमा सुरक्षा विषय केन्द्रित वार्ता सुरु हुनेछ।

उक्त वार्तामा दुवै देशका सैन्य टोलीहरूको सहभागिता रहने बताइएको छ। यसअघि पनि गत अप्रिल १६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेका थिए।

तर, उक्त घोषणाका बाबजुद इजरायल र हिजबुल्लाहबिच लगातार गोलीबारी जारी नै रहेको थियो। बुधबार मात्रै लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा परी दक्षिणी क्षेत्रमा आठ बालबालिकासहित २२ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

 

हालसम्मको क्षति

गत मार्च २ देखि लेबनानमा सुरु भएको स्थलगत कारबाहीमा अहिलेसम्म १९ जना इजरायली सैनिक र दुई जना नागरिकको मृत्यु भइसकेको छ।

अर्कोतर्फ, इजरायली सेनाका अनुसार लेबनानमा इरानसँगको तनाव बढेयता हिजबुल्लाहको एलिट ' रडवान फोर्स' का कमाण्डरहरूसहित २,००० भन्दा बढी लडाकुहरू मारिएका छन् भने ५,००० भन्दा बढी हिजबुल्लाहका सैन्य ठेगानाहरू ध्वस्त पारिएका छन्।

यस अवधिमा हिजबुल्लाहले इजरायली सेनामाथि करिब ५,५०० र इजरायली भू-भागतर्फ २,५०० रकेट प्रहार गरिसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार