बेइजिङ, बेशाख ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानको मुद्दालाई लिएर अमेरिकासँग गम्भीर सैन्य टकराव हुनसक्ने चेतावनी दिएका छन्। चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार सीले ताइवानको विषय नै चीन र अमेरिका बीचको सम्बन्धको सबैभन्दा संवेदनशील र मुख्य आधार भएको स्पष्ट पारेका छन्।
राष्ट्रपति सीले द्विपक्षीय सम्बन्धको भविष्य ताइवान मुद्दालाई कसरी व्यवस्थापन गरिन्छ भन्नेमा निर्भर रहने बताए।
उनले भने, ' यदि यो मुद्दालाई सही तरिकाले सम्बोधन गरियो भने दुई देशबीचको सम्बन्ध स्थिर रहन सक्छ। तर, यसलाई उचित ढङ्गले नहेरिए दुवै देश टकराव वा संघर्षको स्थितिमा पुग्न सक्छन्, जसले चीन-अमेरिका सम्बन्धलाई अत्यन्तै खतरनाक मोडमा पुर्याउनेछ।'
सीका अनुसार ताइवानको 'स्वतन्त्रता' ताइवान स्ट्रेटको शान्तिको पूर्णतः विपरित छ। यस क्षेत्रमा शान्ति कायम राख्नु नै चीन र अमेरिकाको 'सबैभन्दा ठूलो साझा हित' भएको उनको भनाइ छ।
ताइवान एक स्वशासित टापु हो, जसमाथि चीनले आफ्नो दाबी गर्दै आएको छ। पछिल्ला वर्षहरूमा चीनले ताइवान वरपर नाकाबन्दी गर्ने जस्ता सैन्य अभ्यासहरू तीव्र पारेको छ। चीनले आवश्यक परे बल प्रयोग गरेर ताइवानलाई आफ्नो नियन्त्रणमा लिने सम्भावनालाई जोड दिएको छ ।
अमेरिकाले ताइवानलाई ११ अर्ब डलर बराबरको हतियार बिक्री गर्ने निर्णय गरेपछि चीन थप रुष्ट बनेको छ। सीले आजको बैठकअघि पनि उक्त हतियार सम्झौतालाई लिएर कडा चेतावनी दिएका थिए।
ताइवान प्रशासन र उसका सहयोगी राष्ट्रहरूले चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर चिन्ता व्यक्त गरिरहेका छन्। राष्ट्रपति सीको यो पछिल्लो अभिव्यक्तिले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको तनाव झनै बढ्ने संकेत गरेको छ।