काठमाडौँ,बैशाख। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालले ओमानसँग खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । यो श्रृंखलामा पहिलो खेलमा ओमानसँग १०२ रनको फराकिलो हार बेहोरेको नेपाल आजको खेल जितेर बदला लिन चाहन्छ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण छ ।
यो श्रृंखलामा नेपालले यसअघि भएका तीन खेलमा यूएईलाई दुवै खेलमा हरायो भने ओमानसँग पराजित भएको थियो ।
तेस्रो खेलमा नेपालले यूएईमाथि मात्र छ रनको सनसनीपूर्ण जित हासिल गरेको थियो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार शतकको मद्धतले ७ विकेटको क्षतिमा २८९ रन बनायो ।
ऐरीले ९४ बलमा १०० रन बनाएका हुन् । विनोद भण्डारिले ७९ बलमा ५६, गुल्सन झाले ३८ बलमा ४४ तथा कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रन बनाए ।
जवाफमा वर्षाले प्रभावित खेलमा ३८ ओभरमा २५५ रनको चुनौती पाएको यूएईले ८ विकेटको क्षतिमा २४८ रन बनाएपछि ६ रनले पराजित भयो ।
मुहुम्मद शहदादले ६५ तथा खुजैमा तन्वीरले २६ बलमा ४९ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामि र नन्दन यादवले समान २ विकेट लिए ।
यसअघिको खेलमा नेपालले यूएईमाथि ३७ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
दोस्रो खेलमा ओमानसँग नेपालले लज्जास्पद हार बेहोरेको थियो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ८ विकेटको क्षतिमा ३०५ रन बनायो । कप्तान जतिन्दर सिंहले ओमानका लागि अहिलेसम्मकै उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ९६ बलमा १३० रन जोडे । उनले १५ चौका र ५ छक्का हानेका थिए ।
त्यस्तै जितेन रामआन्नदीले ४३ बलमा ४३ रन बनाए । सोमपाल कामिले ४ तथा सन्दीप लामिछाने र दिनेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । जवाफमा वर्षाले प्रभावित खेलमा डक वर्थ लेविस नियमअनुसार नेपाल १०२ रनले पराजित भयो । नेपालले ३६ ओभर ५ बल खेल्दा ७ विकेटको क्षतिमा १५५ रनमात्र बनाउन सक्यो ।
वर्षाले २५८ रनको नयाँ चुनौतीमा नेपाल निकै पछाडि परेको हो । दिपेन्द्रले ६२ बलमा ६० रन बनाएको इनिङ्समा अन्य कुनै ब्याटरले उल्लेखनीय खेल्न सकेनन् ।
फर्ममा नभएका कप्तान रोहित पौडेलले २३ बलमा १० रनमात्र जोड्न सके ।