२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अमेरिका -  चीन प्रविधि व्यापार

अमेरिकी नयाँ प्रस्ताव : ' तनाव निम्त्याउने भन्दै चीन आक्रोशित '

शुक्रवार , बैशाख १८, २०८३

 

बेइजिङ, वैशाख ।

अमेरिकी नियामक निकायको नयाँ प्रस्तावले प्रविधि व्यापारमा नयाँ तनाव निम्त्याउने सङ्केत देखिएपछि चीनले कडा आपत्ति जनाएको छ ।

चिनियाँ प्रयोगशालालाई अमेरिकी बजारका लागि इलेक्ट्रोनिक उपकरण परीक्षणबाट रोक्ने योजनाले द्विपक्षीय व्यापार सम्बन्धमा नकारात्मक प्रभाव पार्ने भन्दै बेइजिङले प्रतिकार गर्ने चेतावनी दिएको छ ।

अमेरिकाको फेडरल कम्युनिकेसन कमिसन (एफसीसी) ले बिहीबार अघि बढाएको प्रस्तावले स्वीकृति पाए स्मार्टफोनदेखि क्यामेरासम्मका विभिन्न उपकरण प्रभावित हुने छन् ।

एफसीसीका अनुसार हाल संयुक्त राज्य अमेरिकामा प्रयोग हुने करिब ७५ प्रतिशत प्रमाणित उपकरण चीनस्थित मान्यता प्राप्त प्रयोगशालामा परीक्षण गरिन्छन्, जसले यो प्रस्तावको प्रभाव व्यापक हुन सक्ने देखाउँछ ।

यस निर्णयप्रति प्रतिक्रिया दिँदै चीनको वाणिज्य मन्त्रालयले यस्तो कदमले अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार प्रणालीलाई गम्भीररूपमा कमजोर बनाउने चेतावनी दिएको छ ।

मन्त्रालयले यदि अमेरिका आफ्नो निर्णयमा अडिग रहे चीनले आफ्ना उद्यमको वैध अधिकार र हित जोगाउन आवश्यक कदम चाल्ने स्पष्ट सङ्केत दिएको छ ।

चीनले एफसीसीमाथि चिनियाँ कम्पनी र उत्पादनलाई लक्षित गर्दै बारम्बार प्रतिबन्धात्मक उपाय लागु गरेको आरोप पनि लगाएको छ । यस्ता कदमले दुई देशबिच कठिन प्रयासबाट कायम भएको व्यापारिक स्थिरता बिगार्ने र उच्चस्तरीय सहमति विपरीत जाने मन्त्रालयको दाबी छ ।

एफसीसीले भने आफ्नो प्रस्ताव राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले ल्याइएको जनाएको छ । यसअघि नै एजेन्सीले विदेशी विरोधीको स्वामित्व वा नियन्त्रणमा रहेका परीक्षण प्रयोगशालालाई सीमित गर्ने नियम लागु गरिसकेको छ ।

नयाँ प्रस्तावले अमेरिकाको पारस्परिक मान्यता वा समान व्यापार सम्झौता नभएका देशमा रहेका प्रयोगशालाको मान्यता हटाउने लक्ष्य राखेको छ । एफसीसकीका अनुसार चीनसँग यस्तो कुनै सम्झौता छैन ।

प्रस्ताव पारित भएमा चिनियाँ प्रयोगशालामा परीक्षण तथा प्रमाणीकरण भएका उपकरणलाई दुई वर्षभित्र चरणबद्ध रूपमा अमेरिकी बजारबाट हटाइने छ ।

यो प्रस्तावले प्रविधि आपूर्ति शृङ्खला, अन्तर्राष्ट्रिय व्यापार अभ्यास र अमेरिका-चीन सम्बन्धमा नयाँ तनाव थप्ने सङ्केत दिएको छ । विश्लेषकले यसलाई व्यापार मात्र नभई रणनीतिक प्रतिस्पर्धाको अर्को चरणका रूपमा पनि व्याख्या गरेका छन् । एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार