काठमाडौं, चैत ।
साफ यू - २० च्याम्पियनसिपमा नेपालले भुटानलाई २-१ ले पराजित गरेको छ। माल्दिभ्सको मालेस्थित नेशनल फुटबल स्टेडियममा भएको खेलमा नेपालले भुटान विरुद्ध जित दर्ता गर्दै विजयी सुरुवात गरेको हो।
खेलको पाँचौ मिनेटमा पेनाल्टी बक्स भित्र पाएको फ्री किकलाई सुजन डंगोलले उत्कृष्ट गोलमा परिणत गरेका हुन्। सुजनको फ्री किकबाट नेपालले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो।
दोस्रो हाफमा नेपालले गोल थप्दै एक गोल बेहोर्यो। खेलको ५२ औं मिनेटमा सुवाष बमले बक्स बाहिरबाट टप कर्नरमा गोल गरे। खेलको ८३ औं मिनेटमा भुटानका लागि धेनदुपले गोल गर्दै भुटानलाई खेलमा फर्काउने कोसिस गरेका थिए।
यो नै भुटानको लागि एकमात्र गोल भयो। नेपालले साफ यू-२० च्याम्पियनसिपको दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ।