धरान, फागुन। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी भएका छन । राईले ३५ हजार ७४१ मत प्राप्त गरेका छन भने उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन ।
राई ८ हजार ४९२ बढि मतान्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गरेका छन ।
नेकपा (एमाले) का उम्मेदवार टिकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गरेका छन । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ९७ मत प्राप्त गरेका छन । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी १ मा कुल १ लाख ५० हजार ३९३ मतदाता रहेका छन्।
कुल मतमध्ये ४७ हजार ९ सय ८ महिला र ४० हजार ४६४ पुरुष मतदाताले मतदान गरेका छन्। सुनसरी १ को कुल मतमध्ये ८७ हजार ४७१ मत खसेको थियो। जसमा ४ हजार ३८९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। सामाजिक अभियन्ताका रूपमा पहिचान बनाएका राई अहिले संघीय संसदसम्म पुगेका छन ।
स्थानीय मुद्दा उठाउँदै आएका उनले निरन्तर संघर्ष र जनसमर्थनको आधारमा धरानको स्थानीय राजनीतिदेखि राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गरेका छन । लाहुरे परिवारमा जन्मिएका राईले खोटाङको कोपिलासगढी गाउँपालिका खार्ताम्छामा प्रारम्भिक शिक्षा हासिल गरेका थिए ।
प्रवेशिका उत्तीर्ण गरेपछि उनी २०५६ सालतिर धरान झरेका हुन । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्र विषयमा स्नातक तहसम्म अध्ययन गरेका छन ।
२०७२ सालमा धरान -१० स्थित धनकुटे रोड हुँदै चतरातर्फ सडक विस्तार गर्ने क्रममा स्थानीयवासी विस्थापित हुनुपर्ने अवस्था आएपछि राईले पीडितसँग मिलेर आन्दोलन गरेका थिए । त्यही आन्दोलनबाट उनी सामाजिक अभियन्ताका रूपमा चिनिन थालेका हुन ।
गत २०७९ सालको स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । त्यससँगै धरानले पहिलो पटक स्वतन्त्र नगर प्रमुख पाएको थियो । नगरप्रमुख बनेपछि उनले श्रमदानको पुनः विकास गर्नुभई विभिन्न अभियान श्रमदानमार्फत सुरु गरेका थिए ।
उनको पहलमा धरान २० स्थित कोकाहा खोलाबाट पानी ल्याउने अभियान अन्तर्गत ९८ दिनमा श्रमदानमार्फत धरानमा पानी ल्याउन सफल भएका थिए । यस अभियानले राईलाई थप व्यापक जनसमर्थन दिलाएको थियो ।
स्थानीय विकास, खानेपानी, सरसफाइ र सडक सुधारका मुद्दामा सक्रिय रहँदै उनले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।
निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धी गोमा तामाङलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन । राईको यस राजनीतिक यात्रा सामाजिक अभियान, सडक आन्दोलन, स्वतन्त्र नगर प्रमुख हुँदै संघीय संसदसम्म पुगेको छ ।