काठमाडौँ, फागुन । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रम अनुसार देशभरका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा एकएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको जानकारी गराइएको हो ।
आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको आयोगका प्रवक्ता सीता पुन श्रीसले जानकारी दिएका छन ।
मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ ।
निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी निर्वाचन आयोगले अन्तिम चरणमा पुर्याएको छ ।
आयोगबाट स्वीकृत कार्यतालिका अनुसार व्यवस्थापकीय कार्यतालिकाबद्ध र तोकिएको समयमा सञ्चालित छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भई सम्बन्धित जिल्लाहरूमा पठाउने कार्य जारी छ । निर्वाचन सामग्री अधिकांश जिल्लामा पुर्याइसकिएको छ ।
स्वीकृत कार्यक्रम अनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम फागुन ३ देखि १७ गतेसम्म ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा निरन्तर सञ्चालित छ ।
निर्वाचन आचारसंहिता अनुगमन एवं परिपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरूले सक्रिय रूपमा कार्यसम्पादन गर्दै आएका छन् । यही फागुन ४ गतेदेखि राजनीतिक दलहरूले चुनावको मुख्य प्रचारप्रसारका गतिविधि सुरुआत गरेका छन् ।
प्रचारप्रसारलाई प्रचलित कानुन र आचारसंहिताको अधीनमा रही शिष्ट र मर्यादित बनाउन आयोगबाट राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन भइसकेको छ ।
डिजिटल प्लेटफर्मबाट प्रचार प्रसार जारी
निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म ३४५ वटा सामग्री आयोगबाट स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको पनि उनले बताए ।
मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ ।
यस्ता सामग्रीले डिजिटल प्लेटफर्मबाट समेत मतदाता शिक्षा कार्यक्रम प्रवर्द्धन र नागरिक तथा आमसरोकारवालाले आधिकारिक सूचना पाउने अपेक्षा आयोगको रहेको सहायक प्रवक्ता श्रीसले बताए ।
संवादमूलक सन्देश प्रसारण मतदाता शिक्षा कार्यक्रम प्रवर्द्धनका लागि आयोगले उत्पादन गरेका संवादमूलक भिडिओ सन्देश, गीति सन्देश, लघु भिडिओ तथा जिङ्गलहरू प्रसारण सुरु गरेको छ । यस्ता सामग्री आयोगका आधिकारिक डिजिटल प्लेटफर्मबाट प्रसारण भइरहेका छन् ।
मतदातालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्ने, निर्वाचन स्वच्छता बढाउने तथा निर्वाचन आचारसंहिता पालनाका लागि उत्प्रेरित गर्ने सन्देशमूलक सामग्रीबाट मतदान प्रतिशत बढाउने तथा बदर मत प्रतिशत घटाउन भूमिका खेल्ने आयोगको अपेक्षा छ ।
आसन्न निर्वाचनको प्रचार प्रसार र मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन आयोगले राष्ट्रिय कलाकार, सोसल मिडियाका कन्टेन्ट क्रियटर र इन्फ्लुयन्सरसँग सहकार्यका लागि छलफल गरेको छ । रासस