रौतहट, माघ । पूर्वप्रधानमन्त्री तथा नेकपाका सह- संयोजक माधवकुमार नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ। रौतहट क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामनरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका छन्।
पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र भ्रष्टाचार मुद्दा दायर भइ निलम्बित अवस्थामा रहेका व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम निर्वाचन लड्न अयोग्य हुने भएकाले उनको उम्मेदवारी खारेज गर्नुपर्ने मागसहित उजुरी दर्ता गराइएको उम्मेदवार यादवले बताएका छन्।
विशेष अदालत काठमाडौंले नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट फाइल झिकाउन आदेश दिएको छ। पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ लाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ।
२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।
त्यसलगत्तै पतञ्जलीले बनेपा नगरपालिका अन्तर्गत पर्ने साविकको साँगा,नासिकास्थान र महेन्द्र ज्योति गाविस (चलाल गणेशस्थान) मा ५९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेकामा पछि मन्त्रिपरिषदबाटै निर्णय गराएर भूमिसम्बन्धी कानुनविपरीत हदबन्दी छुटको ३५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बिक्री गरेको थियो।
भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न भनेर हदबन्दी छुटमा किनेको जग्गा अपचलन भएको सरकारी छानबिन समितिको प्रतिवेदनले पनि ठहर गरेको थियो। - अन्नपूर्णबाट