मकवानपुर, पुस। राष्ट्रियसभामा आगामी फागुनमा रिक्त हुने सदस्य पदका लागि माघ ११ गते निर्वाचनको तयारी तीव्र बनाइएको छ । नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम रिक्त हुन आउने राष्ट्रियसभाका १९ जना सदस्यको पदावधि आगामी फागुन २० गते समाप्त हुने भएको छ ।
रिक्त हुने पदमध्ये एक जनाको सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने र १८ सदस्यका लागि निर्वाचन हुने भएको हो ।
प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बागमती प्रदेशबाट महिलातर्फ र अन्य क्षेत्रबाट एक गरी दुई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए ।
आगामी फागुनमा पदावधि सकिने दुवैजना नवगठित नेपाली कम्युनिष्ट पार्टीका छन । साविक नेकपा माओवादी केन्द्रका गङ्गाकुमारी बेलबासे र नेकपा एकीकृत समाजवादीका डा. बेदुराम भुषालको राष्ट्रियसभा सदस्य पदको पदावधि सकिँदैछ ।
बागमती प्रदेशमा प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मतभार अनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । यसपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमाले रहेका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका ११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा नगर प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना रहेको निर्वाचन मण्डल रहने व्यवस्था छ ।
तर निर्वाचन आयोगले सार्वजनिक गरेको नगरपालिकाका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मतदाता सूचीमा २३७ जनाको मात्र नाम रहकोले राष्ट्रियसभा सदस्यका लागि ३४७ जनाको मताधिकार रहने भएको छ ।
नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा निलिम्बित भएका कारण मतदानबाट वञ्चित हुने भएका छन । बस्नेत कांग्रेसबाट निर्वाचित हुन ।
प्रदेशसभा सदस्यको ५३ र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको १९ मतभार रहनेछ । राष्ट्रियसभाका लागि बागमती प्रदेशमा ११० प्रदेशसभा र स्थानीय तहका २३७ जनाको गरी १० हजार ३३३ मतभार रहने छ । यस प्रदेशमा कांग्रेसका प्रदेशसभा सदस्य ३७ र स्थानीय तहका १०७ जना मतदानमा सहभागी हुन पाउने छन् ।
जस अनुसार सबैभन्दा बढी मतभार कांग्रेसको तीन हजार ९९४ मतभार हुने छ । यस्तै यसपछिको बढी मतभार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेकपाको रहेको छ । नेकपाको प्रदेश सभा सदस्य २८ र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी ६६ जनासहित ९५ जनाको कुल दुई हजार ७३८ मतभार छ ।
एमाले दुई हजार ५७१ मतभारसहित तेस्रो स्थानमा छ । एमालेको प्रदेशसभा सदस्य २७ र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी ६० जना छन् । १३ जना प्रदेशसभा सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तहमा एकजना मात्र हुँदा ७०८ मतभार हुन्छ ।
उता तीनजना प्रदेश सभा सदस्य र नगरपालिकामा प्रमुख र उपप्रमुख गरी दुईजना रहेको नेपाल मजदुर किसान पार्टीको १९७ मतभार, दुईजना प्रदेश सभा सदस्य रहेको हाम्रो नेपाली पार्टीको १०६ मतभार र स्वतन्त्रको १९ मतभार रहेको छ ।
राष्ट्रियसभा सदस्य पदका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने दिन तोकिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका ४ स्थित मतदानस्थल भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा दुईवटा मतदान केन्द्र तयार गरिएको छ । - गोरखापत्रबाट