काठमाडौँ, मङ्सिर । साहब आलम एक्लैले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहीबार भएको खेलमा काठमाण्डुले पोखरा एभेन्जर्सलाई १३ रनले हरायो ।
लिगको सबै सात खेल सकेको काठमाण्डु १० अङ्कसहित दोस्रो स्थानमा छ । काठमाण्डु प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि सुदूरपश्चिम दुई खेल अगावै प्लेअफमा पुगिसकेको छ । काठमाण्डुसँगको हारसँगै पोखराको प्लेअफ सम्भवना कमजोर बनेको छ । पोखराको ६ खेलबाट चार अङ्क छ ।
जितका लागि एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ५२ रनमा समेटिएको थियो । पोखराका लागि रिशि धवनले अर्धशतकीय इनिङ खेले । उनले ३१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ५४ रन बनाए ।
यस्तै धनञ्जय लक्ष्मणले ३०, कप्तान कुशल भुर्तेलले २२ र जासन रोयले १६ रन बनाए । बलिङमा काठमाण्डुका साहब आलम एक्लैले ह्याट्रिकसहित ६ विकेट लिए । उनले चार ओभरमा २५ रन खर्चिएर विकेट लिएका हुन । यस्तै सन्नी पटेल र कप्तान करण केसीले दुई दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डु गोर्खाजले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो । काठमाण्डुका लागि ओपनर बेन चार्ल्सवर्थले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५५ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाएका हुन । यस्तै भीम सार्कीले पनि ५५ रनको अर्धशतकीय इनिङ्स खेले।
उनले २३ बलमा पाँच चौका र चार छक्का हाने भिम प्लेयर अफ दि म्याच बने । मिलिन्ड कुमारले १३ रन जोड । बलिङमा पोखराका धनञ्जय लक्ष्मणले चार विकेट लिनु भयो ।
कुशल भुर्तेलले दुई तथा किरण ठगुन्ना र विपिन कार्कीले एक एक विकेट लिए । आजै अपराह्न ४ बजे हुने अर्को खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुने छ ।