२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एनपिएल : जनकपुर बोल्ट्सले चितवनलाई हरायो

मंगलवार , मंसिर १६, २०८२

 

काठमाडौँ, मङ्सिर । साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।

यसअघि खराव नतिजा सामना गरिरहेको जनकपुरले पाँचौँ खेलमा आएर पहिलो जित निकालेको हो । जितसँगै दुई अङ्क बनाएको जनकपुरले प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राखेको छ । यस्तै समान खेलबाट चितवनको चार अङ्क छ ।

जितका लागि एक सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुरले १७।३ ओभरमा चार विकेटको क्षतिमा एक सय ८० रन जोड्दै लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि ओपनर माज सदाकत र अनिल शाहले अर्धशतकीय इनिङ्स खेले ।

माजले तीस बलमा ६ चौका र चार छक्काको सहयोगमा ६३ रन बनाए । यस्तै अनिल शाहले ३६ बलमा चार चौका तीन छक्काको सहयोगमा ६१ रन बनाए ।

आशिफ शेख र आदित्य महताले १८, १८ तथा जान निकोल लोफ्टी इटनले ११ रन जोडे । बलिङमा चितवनका कमल ऐरी, अमर रौटेला र सोहिल तानविरले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो ।

चितवनका लागि ओपनरद्वय डेविड मलान र अर्जुन साउदले अर्धशतक बनाए पनि टोलीको हार टरेल । मलानले ८० र अर्जुनले ५२ रनको योगदान गरे ।

कप्तान कुशल मल्लले ३० रन जोडे । बलिङमा जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी इटनले एक एक विकेट लिए । आजै दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार