चरीकोट, मङ्सिर । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनले बनाएको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने बताएका छन । मन्त्री खरेलले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै घाइते र मृतकको योगदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।
आइतबार कालिन्चोक ८ सुनखानीमा कालिनाग माध्यामिक विद्यालयले आयोजना गरेको बधाइ तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । मन्त्री खरेलले अहिलेको सरकारले भ्रष्टाचार कम गर्दै सुशासनलाई प्राथमिकता दिएको बताए ।
आगामी फाल्गुन २१ गते निर्वाचनको तयारीमा सरकारले काम गरिरहेको बताउदै उनले सबै दल र नागरिकलाई जिम्मेवारीपूर्वक निर्वाचनमा भाग लिन आग्रह गरे । उनले सरकारले अहिलेसम्म धेरै राम्रा काम गरेको भए पनि केही क्षेत्रमा अझ राम्रो गर्नुपर्ने बताए । आफूले राम्रो काम गर्न नसके पनि कुनै पनि नराम्रो काम नगर्ने बताए ।
हालको सरकारको कार्यशैलीले जेनजी आन्दोलनका योगदानको सम्मान गरेको प्रष्ट पारे । मन्त्री खरेलले देशमा राजनीतिक दलको अत्यधिक सत्ता खेल र स्वार्थ केन्द्रित राजनीतिका कारण समग्र विकाससँगै शिक्षा क्षेत्रमा गम्भीर असर परेको उल्लेख गर्दै अब विकास र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्ने बताए ।
उनले भने, देशमा स्थिर सरकार नबन्दा राजनीतिक दलको अस्थिर सत्ता प्रतिस्पर्धा बढेर शिक्षा क्षेत्रदेखि समग्र विकाससम्म प्रभाव परेको छ।
अब स्थिरता, गुणस्तरीय शिक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै सबै दलले राष्ट्रिय जिम्मेवारी निर्वाह गर्न आवश्यक छ। मन्त्री खरेलले राष्ट्रिय विकास, गुणस्तरीय शिक्षा र प्रविधिमा आधुनिक सुधारलाई पनि प्राथमिकतामा राख्दै काम गर्नु आवश्यक रहेको बताए ।
उनले राजनीतिक दलभित्र सक्षम र जिम्मेवार नेतृत्व रहेको हुँदा चुनाव नजिकिँदै गर्दा सही नेतृत्त्व छान्नु आवश्यक रहेकोमा जोड दिए ।