२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जेन-जीका २३ एलाइन्स

राष्ट्रपतिसमक्ष जेन-जीका माग : ' सरकार दिशाहीन भयो, फिर्ता बोलाऔँ '

नभए सरकारविरुद्ध अर्को शान्तिपूर्ण आन्दोलन तथा दबाब कार्यक्रम हुने

बिहिवार , मंसिर ४, २०८२

 

काठमाडौँ, मङ्सिर । जेन-जीका विभिन्न २३ समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउन भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष माग गरेका छन् । राष्ट्रपति कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाएर जेन- जीका २३ समूहले प्रधानमन्त्रीबाट कार्कीलाई हटाउनुपर्ने माग गरेका हुन् ।

प्रधानमन्त्रीका रूपमा कार्कीले भदौ २३ र २४ को विद्रोहको म्यान्डेट अनुसार काम गर्न नसकेको आरोप ज्ञापनपत्रमा लगाइएको छ । विभिन्न पाँचवटा माग रहेकोमा ती पूरा गराउन नसकेको ज्ञापनपत्रमा भनिएको छ ।

मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको लागि संविधान संशोधन, यस विद्रोहमा भएको नरसंहारमा सलग्नमाथि कारबाही, जेन-जी विद्रोहका घाइतेहरूको उपचार तथा जेन(जी विद्रोहका सहिद परिवारलाई उचित क्षतिपूर्ति र भरणपोषणको माग रहेकोमा कुनै पनि पूरा गराउन नसकेको ती समूहको दाबी छ ।

'विद्रोहको जगमा बनेको सरकारले विद्रोहीका न्यूनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनाव मात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको पाइयो ।

यो विद्रोर र शहादत केवल अर्ली इलेक्सनको लागि भएको थिएन,' ज्ञापनपत्रमा भनिएको छ, 'तसर्थ, हामी उक्त विद्रोहमा संलग्न जेन-जीका २३ एलाइन्स, घाइते र शहीद परिवार यो सरकारले तत्काल विद्रोही पक्षका माग सम्बोधन गर्नु पर्दछ ।'

अन्यथा यदि यो सरकारले विद्रोही पक्षका माग पूरा गर्न सक्तैन भने यो सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्माननीय ज्यूसमक्ष निवेदन गर्दछौं ।'

आफूहरूले भने अनुसार नभएमा सरकारको विरुद्धमा अर्को शान्तिपूर्ण आन्दोलन तथा दबाब कार्यक्रम हुने चेतावनी पनि उनीहरूले दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार