काठमाडौँ ,कात्तिक। आफ्ना माग पूरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् ।
मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए ।
उनले भने, “गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले आज मुहान बन्द गर्नु भएको छ । मुहान बन्द गरिएपछि बिहीबार दिउँसोदेखि काठमाडौँमा आउने मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ ।
विसं २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरुका माग पूरा नभएको भन्दै स्थानीयवासीले पानी बन्द गरेका हुन् । वर्षा शुरू भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि चालु गरिएको थियो ।