२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

छठ पर्व नजिकिँदै : श्रद्धालुले बनाए - ' घाट निर्माण कार्य तीव्र '

शुक्रवार , कार्तिक ७, २०८२

 

मधेश, कात्तिक । दसैँ र तिहारको उल्लास सकिएलगत्तै तराईका सर्वसाधारण अहिले सूर्य पूजाको महान लोकपर्व छठको तयारीमा जुटेका छन् । छठ गीत र धुनले गाउँ - सहर गुन्जिरहेका बेला श्रद्धालुहरू जलाशयहरूमा पूजा स्थलको सरसफाइ, घाट निर्माण तथा सजावटमा व्यस्त भएका छन् ।

सप्तरी जिल्लाका भगवती पोखरी, कल्टुदास पोखरी, तुरन्ती पोखरी, पुर्णी पोखरी, झल्ही पोखरी, बिहारपुर पोखरी, सिस्वाबेल्ही पोखरी, खैरसाल पोखरी र कोशी ब्यारेजलगायतका जलाशयहरूमा छठ पर्व मनाउन विशेष तयारी भइरहेको छ ।

पूजा स्थलहरू सुरक्षित बनाउनका साथै घाटहरूलाई आकर्षक बनाउने काम युद्धस्तरमा अगाडि बढाइएको छ ।

तिहार सकिएसँगै छठ गीत र धुन हर टोल - गल्लीमा गुन्जिन थालेका छन् । बजारका पसल, घर आँगन र सार्वजनिक स्थलमा लाउडस्पिकरमार्फत मैथिली र भोजपुरी भाषाका छठ गीतहरू बजाइँदै छन् ।

स्थानीय एफएम रेडियोहरूले पनि छठ पर्वका विशेष गीतहरू प्रसारण गर्दै वातावरणलाई अझ धार्मिक बनाएको छिन्नमस्ता एफएमका नविन नरसिंह नेपालीका अनुसार, सप्तरीका सबै एफएमले हाल छठ लोकभाकालाई विशेष प्राथमिकता दिएका छन् ।

छठ गीतहरूको लोकप्रियताले बजारमा पनि रौनक थपेको छ । पान पसलदेखि डिपार्टमेन्टल स्टोरसम्म छठी मैयाका भजनहरू गुन्जिरहेका छन् ।

मोबाइल पसल सञ्चालक राजकुमार मेहताका अनुसार, लामो दूरीका सवारी चालक र महिलाहरूले आफ्नो मोबाइलमा छठी माताका गीतहरू डाउनलोड गरिरहेका छन् । यात्रीहरूले यात्रा क्रममा पनि सवारी साधनमा छठी माताको गीत बजाउँछन्, मेहताले बताए ।

यस पर्वमा श्रद्धालुहरू सूर्य देवताको आराधना गर्दै दुःख, कष्ट र रोगव्याधी नाश होस् भन्ने कामना गर्छन् । समयसँगै छठ पर्व अझ भव्य र खर्चिलो बन्दै गएको छ ।

पूजा सामग्री, डाला, ढाकी, माटाका हात्ती, केराको घरी, विविध परिकार र फलफूलका साथ यो पर्व मनाइन्छ । छठ अब केवल तराईवासीमै सीमित छैन ।

पहाडी र मुस्लिम समुदायका श्रद्धालुहरूले पनि श्रद्धापूर्वक मनाउने गरेको मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेशकुमार यादवले भने, सक्नेले व्रत बस्छन् भने नसक्नेले फलफूल अर्पण गरेर सूर्य आराधना गर्छन् ।

चार दिनसम्म मनाइने यो पर्वमा सोमबार साँझ अस्ताउँदो सूर्य र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा गरिने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार