२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दशैँ नजिकियो : ' मुस्ताङका कृषक च्याङ्ग्रा बेच्न बजारमा '

आइतवार , आश्विन ५, २०८२

 

मुक्तिनाथ (मुस्ताङ),असोज । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका १, छोसेरका कृषक आङ्ग्याल गुरूङ च्याङ्ग्रा लिएर छिमेकी जिल्ला म्याग्दीको सिमाना घाँसासम्म आउन १० दिन लाग्यो ।

गोठमै पुगेका व्यापारीलाई एकसय च्याङ्ग्रा बेच्नुभएका गुरूङले व्यापारीले उपभोक्ताको ढाड सेक्ने गरी मूल्य वृद्धि गरेको गुनासोपछि दुईसय च्याङ्ग्रा सिधै उपभोक्तालाई बेच्ने गरी हिँडेका छन ।

१८ वर्षदेखि च्याङ्ग्रापालनमा सक्रिय गुरूङ मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका( ६, घोडेपानी हुँदै घान्दुकबाट पोखरासम्म पुगेर च्याङ्ग्रा बेच्ने गरी हिँडेको बताए ।

उपल्लो मुस्ताङका १० भन्दा बढी कृषक अहिले बजारमा च्याङ्ग्रा बिक्री गरिरहेका छन । कृषक गुरूङले भने, 'बिचौलियाहरूले मूल्यमा चलखेल गरेको पाइयो, अब उपभोक्तालाई नै रोज्जा च्याङ्ग्रा ३५ हजारसम्म दिने गरी बजारमा आएका छौं । '

कृषक गुरूङले प्रति केजी गत वर्षको तुलनामा सस्तो दिने गरी उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका कृषक नै बजारमा आएको बताए ।

चार जना गोठालोलाई मासिक ज्यााला, पदैलमार्गबाट बिक्रीमा लैजादाँ लाग्ने अतिरिक्त खर्च तथा घाँस लगायत गोठ सुधारमा खर्च कटाएर वार्षिक ३५ देखि ४० लाख आम्दानी हुने कृषक गुरूङको भनाइ छ ।

मुस्ताङका कृषकले न्यूनतम ३० हजारदेखि ३५ हजारसम्मका च्याङ्ग्रा उपभोक्तालाई उपलब्ध गराएपछि उपभोक्ताले समेत राहत महसुस गरेका छन् ।

कृषकले गोठबाट सिधै उपभोक्तालाई बिक्री गर्दा बिचौलियाको भन्दा ५ देखि १० हजार सस्तो पाइएको छ । यसपटक मुस्ताङका कृषक नै गोठबाट च्याङ्गा लिएर म्याग्दी, बागलुङ, पर्वत, कास्की सहित देशका विभिन्न जिल्लामा पुगेका छन् ।

करिब २ वर्षसम्म गोठमा हुर्काएका च्याङ्ग्रालाई बजारमा बिक्री गर्दा उपभोक्तालाई समेत सस्तो र सोचे जस्तै आम्दानी हुने भएकाले समुह बनाएर व्यापारी सहर पसेका छन् ।

दसैँलाई लक्षित गरी यस वर्ष मुस्ताङबाट १२ हजार बढी च्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा.लालमणि अर्यालले बताए ।

केन्द्रका प्रमुख अर्यालका अनुसार घटस्थापनाको दिनसम्म सबै बाहिरिने बताए । यस वर्ष मुस्ताङ र छिमेकी जिल्लाबाट आएका भेडाच्याङ्ग्राबाट करिब ४० करोडभन्दा बढी भित्रिने अनुमान गरिएको छ । हालसम्म स्वास्थ्य परीक्षण गरिएका भेडाच्याङ्ग्रा स्वस्थ्य रहेको केन्द्रले जनाएको छ ।  - गाेरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार