२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सोलुखुम्बुको थामेमा फेरि बाढी  : '५ घर बगायो, विद्युत् र सञ्चार अवरुद्ध '

सोमवार , भाद्र १६, २०८२

 

सोलुखुम्बु, भदौ । लगातारको वर्षापछि थामे खोलामा आएको बाढीले ५ वटा घर बगाएको छ । गए रातिदेखि निरन्तर आएको बाढीले थामे खोला गाउँ पस्दा घरहरू बगाएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा थामे खोलाको बग्ने धार परिवर्तन भई बस्तीमा पसेको बाढीले ५ वटा घर पूर्ण रूपमा बगाएको छ । अन्य ६ वटा घरमा आंशिक क्षति पुर्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिए ।

बाढीका कारण पोलहरूमा क्षति पुगेकाले सो क्षेत्रको विद्युत् आपूर्ति र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । घटनापछि तत्काल उद्धार तथा राहत कार्यमा स्थानीयवासी, सुरक्षा निकाय र सरोकारवाला निकायहरू परिचालित भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।

अहिले पनि लगातार वर्षा भइरहेकाले थप क्षतिको सम्भावना कायमै रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीले बताएका छन् । स्थानीयहरूको घर बगाए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाले थामे क्षेत्रका साथै सम्पूर्ण बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

गत वर्ष भदौमा पनि थामेमा आकस्मिक बाढी आउँदा २० भन्दा बढी घर बगाएको थियो । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा एक्कासि बाढी आएको थियो ।  - कान्तीपुरबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार