२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पोखरा अन्तरराष्ट्रिय विमानस्थल : 'अब अष्ट्रेलिया उडान हुने '

बिहिवार , भाद्र १२, २०८२

 

काठमाडौँ, भदौ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानको अनुमति मागेको हो । उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उनले बताए । आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ ।

सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रलिया उडान गर्ने योजना बनाएको छ । पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ । औपचारिक रूपमा प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ । छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला, सूचना अधिकारी भूलले भने ।

यो उडान भएमा अष्ट्रेलिया आवत- जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ । यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो ।

विसं २०८० असार ६ गते उक्त एयरलाइन्सको एयरवस ' ए' ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो । असारको ८ र ९ गते फेवातालमा भएको नेपाल- चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ । कम्पनीले आगामी सेप्टेम्बर महिनादेखि अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ । यसैबीच भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ ।

एयरलाइन्सले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि दुई- तीनवटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी भूलले बताए । उहाँका अनुसार भूटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडान अनुमति मागेको छ । भूटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो ।

चार्टर्ड उडान दिगो भएमा काठमाडौँजस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान फिफ्थ फ्रिडम फ्लाइट दिने भनेर पहिले नै निर्णय गरिएको छ । सुरुमा भूटान एयरलाइन्सले काठमाडौँ पारो काठमाडौँ उडान गर्नेछ ।

उडान नियमित भएको खण्डमा पारो- पोखरा- दिल्ली र दिल्ली- पोखरा पारो उडान गर्ने एयरलाइन्सको योजना छ, सूचना अधिकारी भूलले भने । भूटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ । हाल हिमालय एयरलाइन्सले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ ।

काठमाडौँ-ल्हासा- पोखरा-ल्हासा- काठमाडौँ जोड्नेगरी हिमालयले उडान सञ्चालन गरिरहेको हो ।पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान सुरु गरेको थियो ।

विमानस्थलमा हिमालयका साथै सिचुवान र भूटान एयरलाइन्सको उडान भएमा विमानस्थल चलायमान बन्ने र गन्तव्य जाने यात्रुका लागि पनि सहज हुने प्राधिकरणको विश्वास छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार