खाँदबारी (सङ्खुवासभा), भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले समृद्धिको यात्रामा सबै दललाई सहभागी हुन आग्रह गरेका छन ।
नेपाल प्रेस युनियन सङ्खुवासभाले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले ठूला राजनीतिक दललाई देश र जनताको हितप्रति बढी जिम्मेवार बन्न आग्रह गरे ।
मन्त्री खड्काले जनचाहनाअनुसार स्थिर सरकार निर्माण हुने भएकाले सरकार बाहिर बसेका दललाई अनावश्यक टिकाटिप्पणी गरेर समय खेर नफाली समृद्धिको यात्रामा सहभागी हुन आह्वान गरे ।
उनले कानूनी अवरोधलाई समयानुकूल परिमार्जन गर्दै सरकार सुशासन, तीव्र विकास निर्माण र आर्थिक उन्नतिका लागि अघि बढिरहेको स्पष्ट पारे । पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले झुठा र नकारात्मक प्रचारमार्फत विकास अवरुद्ध गर्ने प्रवृत्तिलाई त्याग्न सबैलाई आग्रह गरे ।
उनले भने 'धमिलो पानीमा माछा मार्ने कामले देशलाई पछि धकेल्छ, त्यसैले ठूला वा साना सबै दल जिम्मेवार बनेर देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउन आवश्यक छ ।
सङ्खुवासभाको सन्दर्भमा उनले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णयले पहाडी जिल्लामा शैक्षिक विकासको नयाँ सन्देश दिएको उल्लेख गरे ।
सङ्खुवासभा अन्तरदेशीय त्रिदेशीय मार्गको सामरिक महत्त्व रहेको बताउँदै उनले यसले नेपालको समृद्धिमा मात्र नभइ त्रिदेशीय सम्बन्ध विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुयाउने विश्वास व्यक्त गरे ।
मन्त्री खड्काले किमाथाङ्का नाका शीघ्र सञ्चालनमा ल्याउन सरकार प्रयासरत रहेको बताउँदै अरुण तेस्रो जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए ।
उनका अनुसार एक हजार ६३ मेगावाट क्षमताको आयोजना निर्माणको तयारी भइरहेको छ । यसले राष्ट्रिय ऊर्जा उत्पादनमा महत्त्वपूर्ण योगदान पुयाउनेछ ।
प्राकृतिक स्रोत वायु, पानी र सौर्यमाथि प्रत्येक नागरिकको समान अधिकार रहने जनाउँदै मन्त्री खड्काले सरकारले विपन्न वर्गलाई बिना धितो रु पाँच लाखसम्मको साहुलियत ऋण उपलब्ध गराउने योजना अघि सारेको उल्लेख गरे ।
ती वर्गलाई समेटेर राष्ट्रसँगै समृद्धिको बाटोतर्फ अघि बढाउने यात्रा आरम्भ भएको उनको भनाइ छ ।
मन्त्री खड्काले भने, ' गरिबीको रेखामुनि रहेका नागरिक पनि समृद्ध हुनेछन् भने मुलुक समृद्धितर्फ अघि बढ्नेछ । विकास र समृद्धि सबैको चाहना भएकाले सबै दल एकै ठाउँमा आएर राष्ट्रलाई समृद्ध बनाउन योगदान दिनुपर्छ ।