२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बागमती प्रदेश सरकार : ' छैटौँ मुख्यमन्त्री बने बानियाँ, लिए शपथ '

मंगलवार , श्रावण २०, २०८२

 

बागमती, साउन । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

मकवानपुरको तत्कालीन हर्नामाडी गाविस–४ दियावतीमा २०२७ साल भदौमा जन्मिएका बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका छन । कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दै मूल पार्टीको राजनीतिमा होमिनुभएका बानियाँ नेपाली कांग्रेसको बागमती प्रदेश सभापति हुन ।

विसं २०४४ मा राजनीतिमा प्रवेश गरेका बानियाँ २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका थिए । विसं २०५२ मा नेपाल विद्यार्थी सङ्घको जिल्ला सहसचिव हुँदै २०५५ सालमा तरुण दलको जिल्ला सचिव र २०५६ सालमा तरुण दलको जिल्ला सभापति भएका थिए ।

विसं २०७८ मङ्सिरमा भएको कांग्रेस बागमती प्रदेश अधिवेशनबाट प्रदेश सभापतिमा बानियाँ निर्वाचित भएका थिए । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट निर्वाचित ५२ वर्षीय बानियाँ २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीमा नियुक्त भई काम गरेका छन ।

विसं २०७४ मा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका बानियाँ सर्वसम्मत कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुनिएका थिए । विसं २०७९ को प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भए पनि उनी संसदीय दलका नेतामा बहादुरसिंह लामा तामाङसँग पराजित भएका थिए ।

यही साउन ९ गते संसदीय दलका नेता लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि संसदीय दलको नेताको पद रिक्त भएको थियो । रिक्त दलको नेता चयनका लागि साउन १४ गते भएको निर्वाचनमा २२ मत ल्याएर बानियाँ दलको नेतामा निर्वाचित भएका थिए । 

लामाले १४ मत मात्र प्राप्त गरेका थिए भने एक मत बदर भएको थियो । बानियाँ दलको नेतामा निर्वाचित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन ।

राजनीतिसँगै सफल निर्माण व्यवसायीका रूपमा परिचित बानियाँ राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा एक विश्वासिलो व्यक्तिका रूपमा चिनिन्छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार