काठमाडौँ, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै नेपालमै पढ्न आग्रह गरेका छन् ।
भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान पुगेका प्रधानमन्त्री ओलीले कक्षा १२ को नतिजा आएको उतै थाहा पाएको उल्लेख गर्दै विद्यार्थीहरूलाई बधाई 'तपाईंहरूको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौं ।'
' फेरि पनि बधाई सबैलाई,' ओलीले भनेका छन् ।
कक्षा १२ मा नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दै नियमिततर्फ ३ लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएकोमा २ लाख ४२ हजार ४६५ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेको जनाएको हो ।
त्यस्तै आंशिकतर्फ भने १ लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३६.४९ प्रतिशत अर्थात ४१ हजार ८४० जना उत्तीर्ण भए । बोर्डका अनुसार १ लाख ५३ हजार ८८२ विद्यार्थी ननग्रेड भएका छन् ।