२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ ' : मन्त्री देउवा

बुधवार , श्रावण १४, २०८२

 

गण्डकी, साउन । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले ससाना विषयमा पार्टीमा झगडा गरेर समय खेर नफाल्न कांगेसका नेता कार्यकर्तालाई आग्रह गरेकी छन ।

नेपाल तरुण दल कास्कीद्वारा आज पोखरामा आयोजित नेपालको परराष्ट्रनीति, जलवायु परिवर्तन एवं तरुण युवाको सरोकार विषयक संवाद कार्यक्रममा उनले आन्तरिक विवादलाई पार्टीभित्रै मिलाउनुपर्ने बताईन ।

दलमा, सङ्गठनमा झगडा हुन्छ, तर त्यसलाई त्यहीभित्र मिलाउनुपर्छ, ससाना विषयमा चित्त दुखाएर पार्टी नै छाडेर हिँड्ने, नेताहरूलाई गाली गर्ने प्रवृत्ति कांग्रेसका सदस्यहरूले त्याग्नुपर्छ । उनले भनिन्, ' परिवारभित्र पनि झगडा हुन्छ, तर कसैले घर छोडेर त हिँड्दैन, पार्टी पनि एउटा परिवार हो, झगडा भए पनि भित्रै मिलाउनुपर्छ ।'

कांग्रेसका सामु मुलुकलाई नेतृत्व गर्ने राम्रो अवसर आएको भन्दै उनले पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्नुपर्ने बताईन । साना कुरामा पार्टीमा मनमुटाव गरेर बस्न नहुने उनको भनाइ छ । मन्त्री देउवाले राजनीतिमा धैर्यता र सकारात्मक सोच चाहिने भन्दै पद र अवसर नपाए पार्टी नै छोडेर हिँड्ने प्रवृत्ति गलत भएको टिप्पणी गरेकी छन ।

पुराना दल र तिनका नेतालाई लिएर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले नयाँपुस्ता भन्दैमा सबै राम्रो नहुने र बुढ्यौली लाग्दैमा सबै गलत नहुने बताईन । त्याग, बलिदान र सङ्घर्षबाट आएका पार्टीहरूलाई अवमूल्यन गर्ने, यो देश खत्तम भयो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ, त्यसलाई चिर्न हामीले जनताप्रति गरेका वाचा समयमा पूरा गर्नुपर्छ ।

मन्त्री देउवाले भनिन्, ' हाम्रा कार्यशैलीगत कमजोरी छन् भने सुधार्नु पर्छ, सुशासनमा ध्यान दिनुपर्छ । निजी स्वार्थ त्यागेर देश र जनताका लागि राजनीति गर्न कांग्रेसका अग्रज पुस्ताले सिकाएको उनको भनाइ छ । फरक प्रसङ्गमा मन्त्री देउवाले देउवाले नेपालले अन्तरराष्ट्रिय जगतमा जलवायु न्यायको विषयलाई सशक्त ढङ्गले उठाउँदै आएको बताएका छन ।

उनले नेपाललाई जलवायुजन्य हानी नोक्सानीसम्बन्धी अन्तरराष्ट्रिय कोषबाट क्षतिपूर्ति दिनुपर्ने धारणा राखे । कार्बन उत्सर्जनलाई शून्यमा झार्नुपर्छ, अहिले रहेको ४५ प्रतिशत वन क्षेत्रलाई अझ बढाउन वृक्षरोपण अभियान सञ्चालन गर्नुपर्छ ।

उनले जलवायु परिवर्तनले ठूलो चुनौती निम्त्याएको भन्दै यसको जोखिम न्यूनीकरणमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताईन । पछिल्लो समय जलवायु परिवर्तनले पारेका असरबारे जनगुनासो धेरै आउने गरेको मन्त्री देउवाको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार