काठमाडौँ, असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत् उत्पादन क्षमता ३ हजार ५६५ मेगावाट पुगेको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले नेपालमा जलविद्युत्को कुल सम्भाव्यता करिब ८३ हजार मेगावाट रहेको र त्यसमध्ये ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रूपले उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको बताए।
विद्युत् उत्पादन क्षमतामा भएको वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइनको विस्तार, निजी तथा विदेशी लगानीकर्ताको सहभागिता र ऊर्जा आपूर्ति प्रणाली सन्तुलित बनाउने प्रयास जारी रहेको उनले जानकारी दिए ।
जलविद्युत् उत्पादनमा वृद्धि गर्नसके मुलुकको आर्थिक विकास, क्षेत्रीय ऊर्जा व्यापार र दिगो भविष्यको आधार निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे ।
उनले भने, ' नेपालमा जलविद्युत् उत्पादन क्षमताको कुरा गर्दा लगभग ८३ हजार मेगावाट रहेको विभिन्न अध्ययनले देखाएका छन्। जसमध्ये ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रूपले उत्पादन गर्न सकिने देखिएको छ।
जलविद्युत् आयोजनाले मुलुकको आर्थिक विकास, क्षेत्रीय ऊर्जा व्यापार तथा दिगो भविष्यको आधार निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। हालसम्म जटिल विद्युत् उत्पादन क्षमता ३ हजार ५६५ मेगावाट पुगेको छ। '
उनले नेपालमा वर्षा याममा क्षमताभन्दा बढी र हिउँदमा एक तिहाइ मात्र विद्युत् उत्पादन गर्न सकिने जानकारी पनि दिए । साथै, विद्युत् उत्पादन कम हुने समयमा छिमेकी मुलुक भारतबाट विद्युत् आयात गरी आन्तरिक मागको आपूर्ति गर्दै आएको पनि बताए ।