काठमाडौँ, असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासको आधार स्तम्भका रूपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा अगाडि बढाइएको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि विकास गरिने स्पष्ट पारेका छन्।
मन्त्री गुरुङले सूचना र प्रविधिको क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्दै सूचना प्रविधिमार्फत आर्थिक, सामाजिक रूपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन सोच अगाडि बढाइएको स्पष्ट पारेका हुन्।
सुशासन र विद्युतीय शासन प्रवर्द्धन तथा सदाचारको परिपालनमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित छ वटा क्षेत्रमा आधारित बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनले भने, 'सूचना प्रविधिको क्षेत्रमा विकसित नवीनतम प्रयोगहरूको अधिकतम उपयोग गर्ने, यस क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि उद्योगको विकास गर्ने, सूचना प्रविधिको क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने तथा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी विकासको आधार स्तम्भका रूपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा अगाडि बढाइएको छ। '
सूचना प्रविधिमार्फत आर्थिक सामाजिक रूपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने सूचना प्रविधि मन्त्रालयको दीर्घकालीन सोच रहेको छ।' उनका अनुसार आगामी आर्थिक वर्ष २०८२- ८३ को नीति तथा कार्यक्रम तथा बजेट मूलतः आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, चलचित्र र मुद्रण गरी छ वटा क्षेत्रमा आधारित छ।
सो आर्थिक वर्षमा मन्त्रालय र मातहतका निकायका लागि ७ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ। जसमध्ये ७५ प्रतिशत चालूतर्फको अनिवार्य दायित्वका रूपमा रहेको रकम हो भने बाँकी पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।