काठमाडौँ, असार । मनसुन भित्रिन थालेपछि पहाडी भेगमा बर्खे धान रोपाइँ सुरु हुन थालेको छ । मध्य पहाड, कुलो लाग्ने क्षेत्रसँगै खोल्सातिर रोपाइँ धमाधम भइरहेको छ । दोलखा, लमजुङ, बनेपा, भक्तपुरलगायत क्षेत्रका कुलो पुगेका स्थानमा रोपाइँ भइरहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ ।
पानी उपलब्ध हुने क्षेत्र र मध्यपहाडतिर जेठ १५ बाटै रोपाइँ सुरु भएर असार १५ सम्म आइपुग्दा रोपाइँ नै सकिन्छ । दोलखा क्षेत्रमा सिँचाइ भएको ठाउँमा रोपाइँ सकिएको छ,' नार्कका वैज्ञानिक सुशील सुवेदीले भने, असार दोस्रो साता ९असार १५० देखि तराई क्षेत्रमा रोपाइँ सुरु हुन्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार करिब १३ लाख ११ हजार हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । यस धानको उत्पादकत्व प्रतिहेक्टर ४.१३ टन छ । गत वर्ष मनसुन औसतभन्दा तीन दिनअगाडि सक्रिय भएर औसत वर्षा सरदरभन्दा उच्च थियो । सोही कारण धानबालीको उत्पादकत्वदेखि उत्पादनसम्म बढेको थियो ।
केही ठाउँमा मल अभाव भए पनि विगतको जस्तो हाहाकार नहुँदा धानको उत्पादन बढेर ५४ लाख ११ हजार ८३ टन पुगेको थियो । अहिले पनि मध्यपहाडी र कुलो पुगेको ठाउँमा रोपाइँ सुरु हुन थालेको छ ।
धानबालीको पकेट क्षेत्र र राजधानी मानिने तराईमा पनि रोपाइँ सुरु हुँदै छ । रोपाइँकै बेला धेरै आवश्यक पर्ने रासायनिक मलको आपूर्ति, बिक्रीवितरण र मल मौज्दातको अवस्था कस्तो छ ? यसपालि किसानले सहजै पाउन सक्लान् रासायनिक मल ? कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारी भन्छन्, भक्तपुर क्षेत्रमै मल अभाव भएको गुनासो छ ।'
अन्य जिल्लामा पनि किसानले मल नपाएको गुनासो गरिरहेको उनको भनाइ छ । ' अहिले मध्यपहाड र खोलाखोल्सातिर रोपाइँ भएको छ । पकेट क्षेत्रमा रोपाइँ हुन बाँकी नै छ,’ अधिकारीले भने, ' तर उपत्यका ९भक्तपुर० मै मल अभावको गुनासो आएको छ । असार दोस्रो सातादेखि तराई क्षेत्रमा धमाधम रोपाइँ हुन्छ, मलको माग बढ्छ । सरकारले त्यता ध्यान दिन जरुरी छ ।
जानकारका अनुसार सबै बालीका लागि करिब १२ लाख टन रासायनिक मल आपूर्ति गर्न सके कुनै बालीलाई अभाव हुँदैन । औसत ७ लाख टन रासायनिक मल उपलब्ध गराउन सके पनि सर्वसाधारणबाट गुनासो आउँदैन । तर सरकारले वार्षिक औसतमा साढे ३ देखि ४ लाख टन मात्रै मल उपलब्ध गराउन सकेको छ । जसले गर्दा पनि सबै किसानले मल पाउन सकेका छैनन् ।
अखिल नेपाल किसान महासंघका महासचिव सरिता भुसालले पनि मलको अभाव कायमै रहेकाले सरकार गम्भीर हुनुपर्ने जनाइन् । ‘रोपाइँ बल्ल सुरु हुँदै छ, मल आपूर्तिको व्यवस्था चुस्त नबनाए असार दोस्रो सातापछि फेरि हाहाकार हुन्छ,’ उनले भनिन्, ‘यस विषयमा सरकारसँग पहल गरिराखेका छौं । तर योजनाबद्ध रूपमा अझै हुन सकेको देखिएन ।’
अहिले सरकारको कागजमा केही परिमाणमा मल देखिए पनि किसानले नपाएको उनले जनाइन् । यसका लागि वितरण प्रक्रियामा ध्यान दिनुपर्ने उनले बताइन् ।
चालु आर्थिक वर्षमा कृषि मन्त्रालयले मल किन्न २७ अर्ब ९५ करोड बजेट छुट्याएको छ । उक्त रकमबाट ५ लाख ५० हजार टन खरिद गर्ने लक्ष्य राखेको छ ।
सोही परिमाण बराबर टेन्डर गरिए पनि आपूर्तिको अवस्थामा सुधार छैन । चालु आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी हुँदा गत आर्थिक वर्षको मार्गस्थ परिमाणसमेत गरेर ३ लाख ३८ हजार २ सय ७७ टन मल आयात भएको छ ।
यसमध्ये २ लाख ११ हजार २ सय २९।७ टन युरिया, १ लाख ११ हजार ७ सय ८२.१ टन डीएपी र १५ हजार २ सय ६५.२ टन आयात भएको मन्त्रालयको तथ्यांक छ ।
यी मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले आयात गरेका हुन् । मन्त्रालयकै तथ्यांकअनुसार २०८१ साउन १ देखि २०८२ जेठ २८ सम्म गत वर्षको बाँकी रहेको मौज्दातसहित ३ लाख ८२ हजार ६ सय ७४.७ टन मल बिक्री भएको छ ।
यसमध्ये २ लाख ३५ हजार ५ सय ५२.३ टन युरिया, १ लाख ३२ हजार ६ सय ६९.१ टन डीएपी र १४ हजार ४ सय ५३ .३ टन पोटास बिक्री भएको कृषि मन्त्रालयका प्रवक्ता जानुका पण्डितले बताइन् ।
किसानको माग अनुसार आयात हुन नसकेको उनले स्वीकारिन् । यद्यपि कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मल आयात गरिरहेको र केही आउने क्रममा रहेको पण्डितको भनाइ छ ।
मन्त्रालयको तथ्यांकअनुसार जेठ २८ सम्म ७० हजार ५ सय २०.५ टन रासायनिक मल मौज्दात छ । यसमध्ये ३१ हजार ८ सय ९३.९५ टन युरिया, २९ हजार ४८.७ डीएपी र ९ हजार ५ सय ७७.८५ टन पोटास मौज्दात छ ।
अनुदानको रासायनिक मल विक्रेता व्यवस्था कार्यविधिअनुसार मलको कोटा प्रदेश सरकारले तोक्छ । नगरपालिका गाउँपालिकाले कोटा वितरण गर्छन् । त्यसअनुसार सहकारीमार्फत किसानलाई मल वितरण गरिन्छ । वितरण प्रक्रियामा समस्या हुँदा सबै किसानले समयमै पाएका छैनन् ।
- कान्तीपुरबाट