२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रधानमन्त्री ओलीको निर्देशनमा आफूविरुद्ध मुद्दा : अध्यक्ष नेपाल

'मेरो राजनीतिक करियर समाप्त पार्ने केपी ओलीको नियत नै हो '

बिहिवार , जेठ २३, २०८२

 

काठमाडौँ, जेठ । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीकै निर्देशनमा आफूविरुद्ध मुद्दा दर्ता भएको बताएका छन् ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपालले प्रतिक्रिया दिँदै ओली सुरुदेखि नै आफूविरुद्ध लागेको बताएका हुन् ।

'उहाँ मेरोविरुद्धमा सुरुदेखि नै लाग्नुभएको हो । मेरो राजनीतिक करियर समाप्त पार्ने उहाँको नियत नै हो । पहिले पनि यस्तै किसिमले पटक- पटक कोसिस गर्नुभएकै हो ।

उहाँ बदलाको भावनाबाट चल्नु भएको छ,' रौतहटमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने । पतञ्जली प्रकरणमा आफूले कुनै बदमासी नगरेको समेत नेपालको दाबी छ । '

कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन। पतञ्जली जस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ,' उनले भने ।

आफूले मुद्दाबारे जानकारी लिने र कानुन व्यवसायीसँग परामर्श गर्ने पनि नेपालले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरू विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिन तत्कालीन प्रधानमन्त्री नेपालले नै निर्देशन दिएका थिए।

२०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरी ३५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको थियो । -  कान्तीपुरबाट 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार