पोखरा, माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता स्थापित गर्नसके आगामी चुनावमा बहुमत प्राप्त गर्नसकिने बताएका छन् ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र गण्डकी प्रदेश समितिको व्यवस्थापनमा सोमबार पोखरामा प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुखलाई आयोजित अभिमुखीकरणमा बोल्दै उनले पार्टीभित्र एकता जरुरी रहेकोमा पनि जोड दिएका छन ।
सभापति देउवाले भने, सबै जातजातिको प्रतिनिधित्व गर्ने काम यो संविधानले गरेको छ । यो संविधान बनाउन हामी लागेका पनि हौं । यो संविधानमा बहुमत प्राप्त गर्न पनि त्यति सजिलो छैन कुनै पार्टीको, उनले भने, 'त्यही पनि पार्टी एक भएर हिँडेको खण्डमा, आफ्ना मतभेद ' बिर्सिएर पार्टीभित्र एकता स्थापित गर्न सबै साथी लाग्यौं भने कांग्रेसले बहुमत पनि प्राप्त गर्न सक्दछ ।
पार्टी एकता कायम गर्न सके लोकतन्त्र, समावेशी समानुपातिक राजनीति, संघीय प्रणालीलाई सुदृढ गर्ने चुनौतीको सामना गर्न सकिने पनि बताए ।
काठमाडौंले मात्रै देशको विकास हुन सक्दैन, उनले भने, देशको विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्छ भन्ने हाम्रो मान्यता अनुसार संघीय राजनीतिमा हामी अघि बढेका छौं । संघीय लोकतन्त्रको बाटोमा अघि बढेका छौं ।
संघ, प्रदेश र स्थानीय तहका आफ्ना अधिकार सुनिश्चित भएको बताउँदै उनले अधिकारको सदुपयोग गरेर विनम्रताका साथ अगाडि बढ्न प्रशिक्षणमा सहभागी नेता, कार्यकर्तालाई आग्रह गरे ।
घमण्ड बढाएर होइन, हामीले के के न पायौं भने जस्तो होइन, जनताको सेवा गर्ने व्यक्तिहरू हौं भन्ने भित्रैबाटै हामीमा आउनुपर्छ, उनले भने, त्यस अनुसार तपाईंहरू जनताको सेवक भएर अगाडि बढ्नुहुन्छ भन्ने मलाई विश्वास छ ।
समावेशी, समानुपातिकसहितको नेपालको राजनीतिक प्रणाली अत्यन्तै उत्तम व्यवस्थाका रूपमा स्थापित भएको बताउँदै उनले अन्य देशका लागि पनि उदाहरणीय भएको उल्लेख गरे ।
हाम्रो देशले धेरै उन्नति गरेको छ, उनले भने, तर यसलाई संस्थागत मात्रै होइन सुदृढीकरण गर्दै जनतामा विश्वसनीय, जनतामा साच्चिकै यसका प्रति, यस व्यवस्थाका प्रति, यस संघीय लोकतान्त्रिक गणतन्त्रका प्रति, समावेशी समानुपातिक राजनीतिप्रति जनताको पूर्ण रूपमा समर्थन, सहयोग र आफ्नो भन्ने भावना हामीले सिर्जना गर्न जरुरी छ ।
त्यो भएको खण्डमा मलाई विश्वास छ, हाम्रो देश सच्चा मानेमा हिमाल, पहाड, मधेश, मेचीदेखि महाकालीसम्म फैलिएको विविध जातजाति, समुदायसहितको देश बन्छ ।'
समावेशी, समानुपातिक राजनीतिक प्रणालीमा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन सफल बताउँदै उनले पार्टीभित्र एकता भयो भने भोलिका दिनमा बहुमत प्राप्त गर्ने पार्टी बन्न सक्ने उनले दोहोर्याए ।
उनले भने, ' त्यसकारण भोलिका नेताहरु जो पार्टीलाई हाँक्नुपर्ने छ, पार्टीलाई बनाउनुपर्ने छ, उहाँहरूको काँधमा पनि धेरै ठूलो जिम्मेवारी आएको छ ।
कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले अन्तर्घातकै कारण प्रदेशमा ४० र संघमा ३० सिट गुमाएको भन्दै उनले यस्तो महारोगको अन्त्य गरे अर्को चुनावमा एक्लै बहुमत आउने उल्लेख गरे ।
त्यसका लागि २०८१, ०८२ र ०८३ मा अभियान चलाउनुपर्ने उनको प्रस्ताव थियो । तीन वर्षे अभियान सफल भएपछि स्थानीय, प्रदेश र संघीय चुनावमा एक्लै बहुमत आउँछ, उनले भने, बहुमत आउन रोक्यो भने वर्षौंदेखिको अन्तरघात अपराधले रोक्छ ।