२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' सुपर सिटिजनसीप '

सञ्चारमन्त्री गुरूङले भने : राष्ट्रिय परिचयपत्र - ' सुशासनको आधार '

सोमवार , माघ १४, २०८१

 

कास्की, माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सुशासन कायम गर्न राष्ट्रिय परिचयपत्र महत्त्वपूर्ण बन्ने बताएका छन् । मन्त्री गुरूङले जिल्ला प्रशासन कार्यालय कास्कीमा आज प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेबाट राष्ट्रिय परिचयपत्र ग्रहण गर्दै यस्तो बताएका हुन ।

उनले भने, आधुनिक र वैज्ञानिक प्रविधि भएकाले यसलाई 'सुपर सिटिजनसीप' का रूपमा समेत लिनुपछ । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरूङले हालै अध्यादेशमार्फत सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरिएको पनि जानकारी दिए ।

उनले भने, 'नागरिकताका माध्यमबाट धेरै अनियमितता भयो, त्यसलाई रोक्न राष्ट्रिय परिचयपत्रलाई आधार मान्ने भनेर प्रबन्ध गरेका छौँ । सुशासनका लागिसमेत महत्त्वपूर्ण पाटो हो ।'

सरकारले बैँकिङ कारोबार, राहदानी तथा मालपोतका लागिसमेत राष्ट्रिय परिचयपत्रलई मुख्य आधार मान्ने मन्त्री गुरूङको भनाइ छ । 'राष्ट्रिय परिचयपत्र उच्च प्रविधियुक्त भएकाले आधुनिक र भरपर्दो रहेको छ । यसमार्फत धेरै काम हुन्छ ।

बायोमेट्रिक प्रणालीमा चल्ने भएकाले तलमाथि चोरी गर्न नसकिने खालको छ ।' नागरिक एपमा प्रयोग गर्दा यसलाई आधार मान्छौँ,' सञ्चारमन्त्री गुरूङले थपे ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लामा हालसम्म दुई लाख ७१६ राष्ट्रिय परिचयपत्र प्राप्त भएकामा स्थानीय तहका वडा कार्यालयमार्फत ७५ हजार ७१८ जनालाई वितरण गरिएको बताए । उनले प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन सङ्कलन गर्ने कार्यसमेत सञ्चालन भइरहेको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार