२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

झिलिमिलि र उज्यालाेकाे पर्व

गीत सङ्गीतसँगै गुञ्जिन्छ  : " तिहारै आयो लौ झिलिमिलि...."

‘हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको’ भन्ने शब्दले साँच्चीकै तिहार आएको हरेक नेपालीले अनुभूति गर्छन्

बिहिवार , कार्तिक १५, २०८१

 

धरान (सुनसरी), कात्तिक । 
 

तिहारै आयो लौ झिलिमिलि,
ए सुन हजुर भैलिनी आए आँगन ।
मनको आँखा उघारी हेर
ए सुन हजुर लक्ष्मी आइन् आँगन ।।


यादव खरेलको शब्द, सङ्गीतमा लोचन भट्राई र नूतन प्रधानले गाउनु भएको चलचित्र ‘स्वर्ग’ को यो गीत देउसी भैलोमा प्रायः छुट्दैन ।  हरेक वर्ष तिहार आएसँगै यी र यस्ता दर्जनौँ गीत घरघर र गल्लि गल्लिमा गुञ्जिन थाल्छन् । जब यी गीतको धुन बज्न थाल्छ, तब तिहारको रमझम आए जस्तो लाग्छ ।

यो गीतको धुनसँगै ‘हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको’ भन्ने शब्दले साँच्चीकै तिहार आएको हरेक नेपालीले अनुभूति गर्छन् । 

भैलो विशेष गीत रहेकाले यस गीतमा चेलीको भैली गीतको सुगन्ध पाइन्छ । हाल यस्तै गीतले गाउँघर गुञ्जिन थालिसकेका छन् । 

दसैँपछि नेपालीको दोस्रो ठुलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा समेत लिन गरिन्छ किनभने गीत सङ्गीतविनाको तिहार अनि गीत सङ्गीतविनाको देउसी भैलो अधुरो जस्तै हुन्छ ।

देउसी भैलोमा गुञ्जिने गीतहरु दर्जनौँ छन् । ती मध्येपनि अरुण उपत्यका समूहका नवीनकुमार खड्का, पुस्तका खड्का, बलराम समाललगायतको स्वरमा सजिएको ‘सिमल बारुलै....

गीतले धेरै दर्शक स्रोताको मन जितेको छ ।

करिब दुई दशकअगाडि सार्वजनिक गरिएको यो गीत अहिले पनि दर्शक स्रोताले उत्तिकै रुचाउने गरेका छन् । 

गीतमा सयपत्री र मखमलीको माला उने जस्तै उनिएका शब्द उतिकै सुमधुर र कर्णप्रिय छन् । जुन गीतमा समेटिएका बुढाबुढीको संवाद झनै रोचक छ । 

भट्याउनेदेखि लिएर बिचबिचमा गाइएको पूर्वेली भाकाले भने सबैको मन छुन्छ । 

तिहारमा देउसी खेल्ने युवा पुस्तादेखि लिएर बुढापाखाको समूहमा धेरैले यही गीत बजाएर देउसी खेल्छन् । 

करिब २० मिनेटको गीतमा देउसी खेल्नेको प्रवेशसँगै अन्तिममा दिइएको आशिषमा सबै विषयलाई लय मिलाएर बनाइएको गीत छ ।

त्यसो त ‘राँको’ फिल्मको गीत ‘दियो बाली साँझको’ लक्ष्मी पूजाका दिन बढी गुञ्जिने गर्छ । त्यसबाहेक पनि तिहारैभरि बज्ने यो गीत आशा भोस्लेले गाएको हो । तीन दशकअगाडि गाइएको गीत अहिले पनि उत्तिकै लोकप्रिय छ ।

‘अन्याय’ फिल्मको गीत ‘अधरमा आज उनकै छ गीत’ पनि उत्तिकै रमाइलो छ । सिन्धु मल्लले गाएको गीत ‘झिली र मिली’ पनि तिहारमा गुञ्जिने गीतमा पर्छ । 

राजु लामाले गाएको ‘भाइटीकामा भेट्न आउँला’ गीत धेरै बज्ने गीतमा पर्छ । यो गीतले विवाह भएर जान लागेकी चेलीलाई माइतीले भाइटीकामा भेट्न आउने बाचा गरेको कथा प्रस्तुत गरिएको छ । 

चलचित्र कोहिनूरमा समावेश गरिएको ‘यसपालिको तिहारै रमाईलो’ गीत पनि तिहारमा उत्तिकै गुञ्जिने गर्छ । 

प्रमोद खरेल र अञ्जु पन्तले गाएको यो गीत तिहारको समयमा धेरै बजाइने गीतमध्ये एक हो । लक्ष्मी पूजादेखि देउसी भैलो सबैलाई समेटिएको यो गीत उत्तिकै लोकप्रिय छ ।

यी बाहेक पनि नयाँ पुराना दर्जनौँ गीत तिहारमा गुञ्जिन्छन् । तिहारसम्बन्धी बर्सेनि नयाँनयाँ गीत थपिए पनि पुराना गीत नै बढि गुञ्जिने गरेका छन् ।

कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्तिक शुक्लपक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइने तिहारको सांस्कृतिक र सामाजिक महत्व बेग्लै छ ।

 तिहार भन्नेवित्तिकै देउसी भैलोलाई सम्झिने गरिन्छ, त्यसमा पनि गीत सङ्गीतले तिहारलाई हर्ष र उल्लासमय बनाउँछ । प्रविधिको विकाससँगै पछिल्लो समय तिहारमा गीत घन्काउँदै देउसी भैलो खेल्न चलन बढेको छ ।  रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार