२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस ट्रेड युनियन विभाग

सरकारको ध्यानाकर्षण गराउँदै भन्यो  :  " बजारको अनुगमन तथा नियन्त्रण गर "

आइतवार , आश्विन २०, २०८१

 

काठमाडौँ, असोज । नेपाली कांग्रेसले विपद् र चाडपर्वको मुखमा श्रमजीवी वर्गलाई मर्का पर्नेगरी कालोबजारीहरू सक्रिय भएको बताएको छ । 
साथै,  प्रभावकारी बजार अनुगमन र तत्काल कारबाही गर्ने संयन्त्र परिचालनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख एवम् केन्द्रीय सदस्य हरिशरण नेपालीसहित नेताहरूले आइतबार गृहमन्त्री रमेश लेखक र श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीलाई छुट्टा-छुट्टै ज्ञापनपत्र बुझाउँदै विपद् र चाडपर्वको मौका छोपी मौलाएको कालोबजार नियन्त्रणका लागि ध्यानाकर्षण गराएका हुन् ।

'कालोबजार सिर्जना गर्नेलाई तत्काल कारबाही गर्न विशेष संयन्त्र परिचालन गरी निम्न मध्यम वर्गीय श्रमजीवीको आहतको घडीमा सुनिने, देखिने र अनुभव गरिने खालको कार्य तत्काल गर्न सरकारको ध्यानाकर्षण गराउँछु,'  विभागका प्रमुख नेपालीले ज्ञापन पत्रमार्फत् भनेका छन् ।

विभागले संकटको घडीमा हरेक नागरिकलाई राज्यको अभिभावकत्व आवश्यक पर्ने भन्दै  सरकार संवेदनशील भएर काम गर्नुपर्ने अवस्था रहेको स्मरण गराएको छ ।

' बाढीपहिरो र डुबानबाट देशभर हजारौँ श्रमजीवी वर्ग घरबारविहीन भएका छन् । कयौँ परिवारहरू विस्थापित भएका छन् । 

कहालीलाग्दो यस अवस्थाबाट सबैभन्दा धेरै श्रम क्षेत्र र श्रमिक वर्ग प्रताडित भएका छन्,'  विभागका प्रमुख नेपालीले ज्ञापनपत्र मार्फत् भनेका छन्, ' यस्तो अवस्थामा घरबारविहीन भएकाका निम्ति राज्यले अभिभावकत्व लिनुपर्छ ।  उनीहरूको गास, बास र आवासको प्रबन्ध गर्न सरकारले मद्दत पुर्‍याउनुपर्छ ।'

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार