काठमाडौं, असोज । अर्थविद् प्रा. डा. गोपिलाल न्यौपानेले अहिलेको सरकारले नागरिकको कुरा सुन्नै नचाहेको र नागरिकको उल्टै ध्यान भड्काउने काम गरेको आरोप लगाएका छन् ।
उनले भने,‘यो सरकारले नागरिक र त्यसका प्रतिनिधिका कुरा सुन्दैन् । बरू ध्यान भड्काउने काम गर्छ ।’
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै न्यौपानेले हवाई भाडा महँगो हुनुमा व्यवसायीभन्दा पनि सरकारकै दोष रहेको आरोप लगाए ।
उनले भने,‘हवाई भाडा महँगो भयो भनेर अहिले व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्ने अनि सरकार सबै ठीक छ भनेर प्रस्तुती भैरहेको छ ।
के साँच्चै व्यवसायी मात्रै गलत हुन ? व्यवसायी ठग नै हुन ? सरकार चाहीँ चोखो नै हो त ? म भन्छु यो सरकार गैरजिम्मेवार छ । मैले यो आलोचना मात्रै गर्न भनेको होईन । ७ हजारको टिकट किन २१ हजार भयो ? म तथ्य कुरा गर्छु ।
सरकारले प्रत्येक टिकटमा प्यासेञ्जर सर्भिस चार्ज लिन्छ । प्रत्येक टिकटमा टुरिजम चार्ज लिन्छ । अनि डिपार्चर ट्याक्सपनि लिन्छ । अनि १३ प्रतिशत भ्याट लिन्छ । सरकार जानी जानी जनता ठगिरहेको छ ।’
उनले सरकारको व्यवहार खराब भएको कुरा स्वयम सरकार विपत्तिमा परेका नागरिकको घरदैलोमा जान नसकेकोबाट पुष्टि भैसकेको दाबी गरे ।
दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएप्छि आफूले लोकतन्त्र खतरामा छ भनेको स्मरण गर्दै न्यौपानेले अहिले व्यवहारमा त्यस्तै देखिएको दाबी गरे ।
उनले भने,‘यो कांग्रेस र एमालेको समिकरण वा गठबन्धन नै गलत छ । सरकार निरंकशु बन्दैछ । यसले जनताको कुरा सुन्दैन ।’