२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मुलुकभर परेको अविरल वर्षा

जनधनको क्षति  : ' अधिक प्रभावित काठमाडौँ उपत्यका र बागमती प्रदेश'

सोमवार , आश्विन १४, २०८१

 

काठमाडौँ, असोज । केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढी पहिरोमा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ ।

विपदबाट सोमबार अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालको तथ्याङ्कअनुसार काठमाडौँमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ ।

बाढी पहिरोका घटनामा परी काठमाडौँमा दुई, भक्तपुरमा एक र ललितपुरमा १२ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी जारी छ । विपद्का घटनाबाट काठमाडौँमा १५ र ललितपुरमा दुई जना घाइते भएका छन् । बागमती प्रदेशका काभ्रेपलान्चोकमा ५९, सिन्धुपाल्चोकमा १३, मकवानपुर र दोलखामा सात(सात, धादिङमा चार, सिन्धुलीमा दुई तथा नुवाकोट र रामेछापमा एक(एक जनाको मृत्यु भएको छ ।

काभ्रेपलान्चोकमा चार र सिन्धुपाल्चोकमा एक जना बेपत्ता भएका छन् । काभ्रेपलान्चोकमा ५२, सिन्धुपाल्चोकमा चार र मकवानपुरमा एक जना घाइते भएका छन् ।

काभ्रेपलान्चोकमा सबैभन्दा बढी एक हजार घरमा क्षति पुगेको छ । यस्तै, सिन्धुपाल्चोकमा १६ र सिन्धुलीमा पाँच घर क्षतिग्रस्त भएको छ ।

कोशीको पाँचथरमा छ, सोलुखुम्बुमा पाँच, धनकुटा र झापामा तीनरतीन, सुनसरी र इलाममा दुई - दुई, तेह्रथुम र ओखलढुङ्गामा एकरएक, मधेसको महोत्तरीमा दुई र रौतहटमा एक तथा लुम्बिनीको रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ ।

 

बाढी पहिरोबाट २०४ को मृत्यु :

विपद्का घटनामा परी देशभर दुईसय चार जनाको मृत्यु भएको भने ८९ जना घाइते भएका छन् ।

अझै ३३ जना हराइरहेका छन् । कोशीमा २३, मधेशमा तीन, उपत्यकामा ८२, बागमतीमा ९४ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

बाढी पहिरोबाट मुलुकभर एक हजार ७८३ घर र १९ वटा पुलमा क्षति पुगेको छ । पाँचथर, सुनसरी र सिन्धुपाल्चोकमा तीन बेलिब्रिज बाढीले बगाएको छ ।

यस्तै विभिन्न जिल्लामा पाँचवटा पक्की पुल सात वटा झोलुङ्गे र अन्य किसिमका चार गरी १९ वटा पुल र उदयपुरको एउटा रिसोर्ट बाढीले बगाएको छ ।

विपद् प्रभावित तीन हजार चार सय एक जनाको हालसम्म उद्धार गरिएको तथ्याङ्कमा उल्लेख छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार