काठमाडौँ, असोज । शुक्रबार बिहानदेखि अविरल रूपमा परेको वर्षाका कारण शनिबार मध्यान्हसम्म विभिन्न राजमार्गका ६८ स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनेका छन् ।
काठमाडौं जोड्ने अधिकांश सडक ठप्प छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालका अनुसार काठमाडौं जोड्ने नागढुंगा, नौबिसे, दक्षिणकाली, सिस्नेरी, भिमफेदी, अरनिको राजमार्गको विभिन्न खण्डमा पहिरो खसेर यातायात ठप्प बनेको छ ।
त्यस्तै, बीपी राजमार्ग, मध्यपहाडी, पृथ्वी राजमार्गको विभिन्न खण्डमा पहिरो खसेर सवारी साधन र यात्रु सडकमै रोकिएका छन् ।
पहिरोको जोखिम रहेको र पहिरो खसेको ठाउमा मेसिन उपकरणसहित प्राविधिक टोली तैनाथ अवस्थामा राखेका छौं, प्रवक्ता ढकालले भने, ' कतिपय ठाउँमा पहिरोले ठप्प बनेको सडकलाई एकतर्फी र कतै पहिरो पन्छाएर दुईतर्फी रूपमा सञ्चालनमा ल्याएका छौं ।'
पानी परिरहेकाले ठूलो पहिरो खसेको ठाउँमा भने पन्छाउन समस्या भइरहेको उनको भनाइ छ ।