बाँके, भदौ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता गठबन्धन भएपछि आम जनतामा नयाँ आशा र उत्साह देखिएको बताएका छन ।
नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकास सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रमको सोमबार बर्दियाको ठाकुरद्वारामा उद्घाटन गर्दै महासचिव पोखरेलले उक्त कुरा बताएका हुन ।
उनले मुलुकमा लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि गठबन्धन बनेको दाबी गरे ।
महासचिव पोखरेलले भने, 'संविधान र कानुनमा समयानुकूल सुधार गर्न राजनीतिक रूपमा अनुकूल रहेको बताए । उनले थपे, जनताले आशा र अपेक्षा पनि गरेका छन् ।'
राजनीतिक अस्थिरताले देश विकासमा अवरोध भएको भन्दै उनले राजनीतिक पार्टी बलियो हुन आवश्यक रहेकोमा जोड दिए ।
विकास र समृद्धिका लागि विगतमा माओवादीसँग पार्टी एकता गरिएको भए पनि असफल भएको बताए । महासचिव पोखरेलले १० औँ महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मार्क्सवादी अध्ययन, जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिदै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गर्न खोजिएकाले जबजको सान्दर्भिकता झनै बढेको बताए ।