ढाका, साउन । बङ्गलादेशमा व्यापक विरोध प्रदर्शनले प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि काम चलाउ सरकारको नेतृत्व गर्न तयार भएका मुहम्मद युनुसले आफ्नो बहुप्रतीक्षित स्वदेश फिर्ती अघि बुधबार देशबासीहरुलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन आह्वान गरेका छन ।
(लघुवित्त) का अग्रणी एवम् नोबेल पुरस्कार विजेता युनुसले अन्तरिम सरकारको नेतृत्व गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
“शान्त रहनुहोस् र देश निर्माणका लागि तयार हुनुहोस्”, युनुसले फ्रान्सबाट स्वदेश फर्कनु एक दिनअघि बुधबार एक विज्ञप्तिमा भनेका छन, “यदि हामी हिंसाको बाटोमा गयौँ भने सबै नष्ट हुनेछ ।”
उनले धेरै साताको हिंसापछि शान्त हुन आग्रह गरे । हिंसामा कम्तीमा ४५५ जनाको ज्यान गएको थियो ।
बङ्गलादेशमा लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकाल्ने श्रेय दिइएका ८४ वर्षीय युनुसलाई विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न बोलाएपछि उनलाई कामचलाउ सरकारको नेतृत्व गर्न नियुक्त गरिएको हो ।
उक्त निर्णय राष्ट्रपति शाहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेताहरूसँगको बैठकमा लिइएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जनाएको छ ।
बैठकमा सहभागी स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका नेताहरू मध्येका एक नाहिद इस्लामका अनुसार युनुसले मुख्य सल्लाहकारको पद प्राप्त गर्नेछन ।
इस्लामले बैठकलाई ‘फलदायी’ भन्दै पत्रकारहरूसँग शाहबुद्दिनले ‘जतिसक्दो चाँडो’ अन्तरिम सरकार गठन गरिने कुरामा सहमति जनाएको बताए ।
युनुसका वकिल खाजा तनवीर अहमदले बङ्गलादेशको एक अदालतले बुधबार पुनरावेदनमा युनुसलाई श्रम सजायबाट सफाइ दिएको जानकारी दिए ।
श्रम अभियोगमा छ महिनाको जेल सजाय सुनाइएपछि युनुसले यसै वर्षको प्रारम्भमा विदेश भ्रमण गर्नुभएको थियो तर पुनरावेदन विचाराधीन भएकाले तुरुन्तै जमानतमा रिहा गरिएको थियो ।
उक्त मुद्दालाई एमनेस्टी इन्टरनेसललगायत निगरानीकर्ताहरूले राजनीतिकरुपमा प्रेरितका रूपमा आलोचना गरेका थिए । एएफपी