काठमाडौँ, साउन। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) नियुक्त भएका छन ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई नियुक्त गरेका हुन ।
कांग्रेस र एमालेले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष मंगलबार दिउँसो मात्र दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार, मुख्यमन्त्रीमा नियुक्तिपछि मुख्यमन्त्रीको शपथ बुधबार बिहान ११ बजे हुनेछ। कांग्रेसका ३७ र एमालेका २७ प्रदेश सभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन ।