काठमाडौँ, असार । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गरे ।
उनीहरुले बिहीबार प्रकाशित एसइई परीक्षाको नतिजाले ठूलो प्रश्नचिह्न खडा गरेको टिप्पणी गरेका छन । बैठकमा सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल भएको सम्बन्धमा शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँदै कलिला युवाको मनस्थिति के भएको होला भन्नेबारेमा सोच्नुपर्ने बताए ।
उनले भने, “उनीहरु असफल भएको कुरा कुन मनोवैज्ञानिकले हेरिराखेका होलान् । शिक्षा नै मूलद्वार हो, जसले देशको विकास गर्छ । यसबारेमा शिक्षा मन्त्रालय अत्यन्त गम्भीर भएर हेर्नुपर्छ, उनीहरु किन उत्तीर्ण हुन सकेनन् । कसको कमजोरीले यति धेरै विद्यार्थी असफल भएका हुन् ?”
सांसद सांसद रञ्जुकुमारी ठाकुरले नीतिगत भ्रष्टाचार हुन नदिन र विपद व्यवस्थापनको पूर्व तयारीलाई गति दिन सरकारले ध्यान दिनुपने बताएकी छन ।
सांसद रेखा यादवले एसइईको परीक्षामा के कारणले विद्यार्थी असफल यस विषयमा सरकारले सदनमा जवाफ दिनुपने बताईन ।
सांसद महन्थ ठाकुरले महोत्तरीमा बाढी नियन्त्रणको लागि जनता तटबन्धको कार्यक्रम ल्याइएको तर अहिलेसम्म ४० प्रतिशत काम मात्र समाप्त भएको जनाउँदै त्यो कार्यक्रमलाई अन्यत्र नसार्न आग्रह गरे ।
सांसद प्रदीप पौडेलले एसइईमा अधिकांश विद्यार्थी असफल भएको सन्दर्भमा सरकारले गुणस्तर वृद्धि गरेर धेरै विद्यार्थीलाई उत्तीर्ण गर्न लाग्नुपर्नेमा त्यो गर्न नसकेको टिप्पणी गरे ।
सांसद नैनकला थापाले अविरल वर्षाका कारण भइरहेकोे धनजनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद पूर्णबहादुर तामाङले निर्माण व्यवसायीले काम गरिसकेको ४० अर्ब सरकारले निकास नगरेको उल्लेख गर्दै तत्काल रकम निकासा गर्न आग्रह गरे । रासस