२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हाम्रा - गाउँघर 

 स्थानीय हाटबजार  : " स्थानीय उत्पादन महदेखि सिस्नुसम्म बिक्री हुन्छन "

शनिवार , चैत्र १७, २०८०

 

दमौली (तनहुँ), चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालित हाटबजारमा स्थानीय उत्पादनले बजार पाउन थालेको छ । गाउँपालिकाको सक्रियतामा प्रत्येक शुक्रबार सञ्चालन हुने हाटबजारमा स्थानीय उत्पादनले बजार पाएपछि कृषक हर्षित भएका छन् । 

हाटबजारमा मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायत दैनिक उपभोग्य वस्तु किनबेच हुने गरेको छ । 

हाटबजारमा स्थानीय उत्पादन बिक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हाटबजार कृषक र उपभोक्ता जोड्ने राम्रो माध्यम बनेको छ । उपभोक्ताले आफूले चाहेका उपभोग्य वस्तु एकै ठाउँमा किन्न पाएका छन् भने कृषकले उत्पादित वस्तु बिक्री गर्ने ठाउँ पाएका छन् ।” 

प्रत्येक शुक्रबारे हाटमा  उपभोक्ताको भीड हुने केसीको भनाइ छ । हाटबजार सञ्चालन हुने दिन के के वस्तु आउँदैछ भनेर उपभोक्ताले पहिल्यैदेखि सोधखोज गर्ने गरेको उहाँले बताउनुभयो । 

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका मह उत्पादक कृषक सुकबहादुर गुरुङले हाटबजारले गर्दा महले बजार पाएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मह बिक्रीका लागि बजारको अभाव छैन, हाटबजारमै छोपाछोप हुन्छ ।” उहाँका अनुसार मह प्रतिकेजी रु एक हजारमा बिक्री भइरहेको छ । 

स्थानीय कृषक ममिता गुरुङले पनि हाटबजार सञ्चालनले मह बिक्री गर्न सजिलो भएको बताउँछन । छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङलाइ गाउँमा उत्पादित साग हाटबजारबाट बिक्री वितरण गर्न सहज भएको छ ।

आँबुखैरेनी गाउँपालिकाले गत वर्षको फागुनदेखि हाटबजार सञ्चालन गरेको हो । गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । 

चुमानका अुसार वार्षिक रु दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको हो । 

गाउँपालिका भित्रका जुनसुकै वडाका कृषकले आफूले उत्पादन गरेका सामग्री हाटमा ल्याएर बेच्न सक्ने उहाँको भनाइ छ । 

किसानले उत्पादन गरेका सामग्री बिक्री नभए गाउँपालिकाले जिम्मा लिने निर्णय गाउँपालिकाले जनाएको छ । 

यसले गर्दा कृषकलाई कृषि पेसामा लाग्न प्रेरणा मिल्ने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अध्यक्ष चुमानको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार