२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

प्रधानमन्त्रीको विश्वास मत प्रस्ताव ३० मा  : "  विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप "

सोमवार , फाल्गुण २८, २०८०

 

काठमाडौँ, फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यहरूका लागि ह्वीप जारी गरेको छ ।  कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबार सांसदहरूका लागि ह्वीप जारी गरेका हुन् ।

प्रधानमन्त्री दाहालले बुधबार बस्ने प्रतिनिधिसभामा विश्वसाको प्रस्ताव पेस गर्ने तय भएको छ ।  उक्त विश्वासको प्रस्तावमाथि मतदान हुने दिन अनिवार्य उपस्थित भएर विपक्षमा मतदान गर्न कांग्रेसले ह्वीप जारी गरेको हो ।

'फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन, प्रधानमन्त्री पुष्पकमल दाहालले आफू माथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिन्छ,' लेखकले ह्वीपमा लेखेका छन् ।

कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग प्रधानमन्त्रीले सत्ता गठबन्धन सुरु गरेपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्नेछ,’ उक्त धारामा उल्लेख छ । कांग्रेसले फागुन २२ मा दाहाल सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार