२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

" कृषि विकासका लागि नीतिगत सुधार चाहिन्छ " :  राष्ट्रपति पौडेल

शुक्रवार , फाल्गुण ४, २०८०

 

काभ्रेपलाञ्चोक, फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनिकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याएका छन । 

‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव–२०८०’ को आज बनेपामा उद्घाटन गर्दै राष्ट्रपतिले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति–निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 

“गरिबीको रेखाभित्रका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हँुदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु”, राष्ट्रपति पौडेलले भने, “मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति–निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।” 

उनले राजनीतिक परिवर्तनपछि मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति नै भएको उल्लेख गरे । 

राष्ट्रपति पौडेलले ‘निमुखालाई न्याय र विपन्नलाई आय’को व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उल्लेख गर्दै मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औद्योगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्नसक्ने धारणा राखेका थिए ।

 “यही नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि हो भन्ने मलाई लाग्दछ”, उनले भने, ।  उनले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र सम्वद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराई यसको ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।  

“बढ्दो सहरीकरणको प्रभावबाट छायाँमा परेका पौष्टिक महत्व भएका मौलिक उत्पादनबारे जनचेतना र जागरण अभियान सञ्चालन गरी यसको उत्पादनलाई बढावा दिनेतर्फ पनि उत्तिकै ध्यान दिनु आवइयक छ”, राष्ट्रपति पौडेलले बताए । 

उनले काभ्रेपलाञ्चोक कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको बताए । उनले यहाँका नागरिक  कृषि कर्मबाट अन्य पेसा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।  

उनले भने, “विविध भौगोलिक संरचना भएको हाम्रो देशमा पहाडी क्षेत्रमा चिया, सुन्तला, कफी, जैतुन, किवी, ड्रागनफ्रुट, एभोकार्डो तथा तराई क्षेत्रमा गहुँ, धान र ऊखु उत्पादनको विकासमा जोड दिनुपर्छ ।”

राष्ट्रपति पौडेलले विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ र ओखर खेतीको विकास गर्दा कृषि क्षेत्रको सन्तुलित विकासलाई मद्दत पुग्ने बताए ।  

“अहिलेको सञ्चार र सूचना प्रविधिको युगमा कृषि प्रविधिसम्बन्धी जानकारी, बजारको अवस्था, रोग, किरा, मौसमको जानकारी लगायत आवश्यक प्रविधि प्रचारका लागि यसको उपयोग गरी सम्पूर्ण सूचना देशभरिका कृषकलाई मोबाइल मार्फत उपलब्ध गराउने व्यवस्थाको खाँचो छ”, उनले थपे । 

विदेशबाट फर्केका युवालाई उनीहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा नीति–निर्माता, सरकार र व्यावसायिक संस्थाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

राष्ट्रपति पौडेलले कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै बीउबिजन र मलको आपूर्ति, नवीनतम औजार–उपकरण–यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । 

उनले भने, “परम्परागत कृषि प्रणालीको अन्त्य गरी नविनतम उच्च प्रविधि, उपकरण, गुणस्तरीय बीउबीजन र व्यावसायिकताको उच्चतम अभ्यासद्वारा औद्योगिकीकरणतर्फ उन्मुख हुन अब हामीले किमार्थ ढिला गर्न हुँदैन ।” 

राष्ट्रपति पौडेलले विगतमा आफू पनि एउटा किसान भएको र सुन्तला कागती गोड्दागोड्दै सांसद भएको स्मरण गर्दै आफूले कषि क्रान्तिको कुरा सुरू गर्नुअघि काभ्रेपलाञ्चोकका नागरिकले कृषि क्रान्ति गरिसकेको स्मरण गर्नुभयो ।

“कृषि नै जीवन हो, नागरिकलाई पाल्ने काभ्रेपलाञ्चोकका उद्यमशील श्रमको अभिनन्दन गर्न म यहाँ आएको हुँ”, उनले भने ।  

उनले हाल रासायनिक मलले मानिसको स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको उल्लेख गर्दै अर्ग्यानिक खेतीमा जोड दिनुपर्ने बताए । उनले भने, “रैथाने खानामा जस्तो स्वाद र शक्ति अहिलेको आधुनिक उत्पादनमा छैन, त्यही भएर अग्र्यानिक खेतीमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।” 

राजधानीमा रहेको कालीमाटी कृषि बजार मात्रैले नपुग्ने भएकाले यस्ता अरु चार पाँचवटा बजार आवश्यक भएको राष्ट्रपति पौडेलले बताए । 

छ कृषक पुरस्कृत

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेपलाञ्चोक र सिन्धुपाचोकका विभिन्न विधामा उत्कृष्ट छ किसानलाई पुरस्कार प्रदान गरेका छन ।  

पुरस्कृत हुनेमा आलु र बीउ उत्पादनको क्षेत्रमा उत्कृष्ट काभ्रेपलाञ्चोकका पनौती नगरपालिका–३ का राजेन्द्र थापा, आलु र तरकारी खेतीमा उत्कृष्ट पाँचखाल नगरपालिका–१२ का बद्रीप्रसाद ढुङ्गाना र पशुपालनतर्फ उत्कृष्ट हुनुभएका बेथानचोक गाउँपालिका वडा नं. १ का रुपेश पाख्रिन पुरस्कृत भएका थिए ।  

साथै ट्राउट माछा पालनमा उत्कृष्ट सिन्धुपाल्चोकबाट हेलम्बु गाउँपालिका वडा नं। ४ का दीपककुमार लामिछाने, मेलम्ची पशुपालत र घाँसखेतीमा उत्कृष्ट नगरपालिका वडा नं. ११ का राजकुमार ढकाल र ब्राखापालन र घाँसखेतीमा उत्कृष्ट भइ भोटेकोशी गाउँपालिका वडा नं। १ का विनोद प्रधान पुरस्कृत भएका छन ।  

पुरस्कृत हुनेलाई राष्ट्रपति पौडेलले सम्मानपत्र, दोसल्ला र नगद प्रदान गरे । 

जिल्ला समन्वय समिति, बनेपा नगरपालिका, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय तथा काभे्रपलाञ्चोक उद्योग वाणिज्य सङ्घद्वारा संयुक्तरुपमा आजदेखि आयोजित बृहत् कृषि महोत्सव चार दिनेसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार