२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी

मंगलवार , मंसिर २६, २०८०

काठमाडौँ, मङ्सिर। सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
 
भृकुटीमण्डपस्थित फुटसल कोर्टमा २० मिनेटसम्म भएको उक्त प्रतियोगितामा प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले दुई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ र नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले एक एक गोल गर्नुभएको थियो । पहिलो र दोस्रो गोल  सांसद सापकोटाले, 
तेस्रो गोल सांसद श्रेष्ठले तथा चौथो गोल सांसद शर्माले गर्नुभएको थियो । प्रतिनिधिसभाको टोलीको नेतृत्व सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा टोलीको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।
 
प्रतिनिधिसभाको टोलीमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा राना, सांसदहरु सापकोटा, श्रेष्ठ, शर्मा, मनिष झा, प्रदीप यादव र तारामान लामा हुनुहुन्थ्यो भने राष्ट्रियसभाको टोलीमा अध्यक्ष तिमिल्सिनासहित रमेशजङ्ग रायमाझी, गोपी अछामी, मायाप्रसाद शर्मा, डा खिमलाल देवकोटा, भैरवसुन्दर श्रेष्ठलगायत सहभागी हुनुहुुन्थ्यो ।
सो अवसरमा सभामुख घिमिरेले संसद् सेवा दिवसलाई मैत्रीपूर्ण फुटसल खेलेर उत्सवका रुपमा मनाउन लागिएको प्रतिक्रिया दिनुभयो । “नेपालमा फुटसलको विकास भएको केही समय भयो, सानो ठाउँमा पनि फुटसलको अभ्यास गर्न सकिने भएकाले आफूहरु खेल प्रवद्र्धन गर्न र युवायुवतीलाई उत्साह प्रदान गर्न सहभागी भएका हौँ”, उहाँले भन्नुभयो ।
 
राजनीति र फुटसल एकै प्रकारको भएको उल्लेख गर्दै उहाँले फुटसल भौतिक रुपमा र राजनीति विचारका रुपमा खेलिने बताउनुभयो ।
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले देशको चौतर्फी विकासका लागि खेल महत्वपूर्ण विधा भएको र यसले समूहमा काम गर्न तथा अनुशासन कायम गर्न सहयोग मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “युवापुस्तालाई खेलकुदमा प्रोत्साहन मिलोस् भनेर आफूहरु मैदानमा उत्रिएका हौँ, खेलकुदमा बालबालिका र युवा आकर्षित भइदिए मेसी र रोनाल्डोका मात्रै नाम किन लिने, आफ्नै देशका प्रतिभावान् खेलाडीको नाम लिने अवस्था आओस्, हामी त्यस दिशातर्फ लाग्नुपर्छ ।
 
उपसभामुख रानाले सदनमा दबाबमा कानुन निर्माणको काममा सधैँभर लाग्नुपर्ने अवस्थाबाट केही समय मुक्त हुन फुटसललगायत खेलमा संलग्न हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भलिबल र साइक्लिङमा आफ्नो रुचि भए पनि संसद् दिवसलाई रमाइलो तुल्याउन फुटसलमा सहभागी भएकी हुँ ।” प्रतियोगितामा पाँच महिलासहित कूल २२ फुटसल टोलीबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार