२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जाजरकोट भूकम्प 

भूकम्प जोखिममा महिला  : "  त्रिपालमुनि छन एक हजार ७६ सुत्केरी "

मंगलवार , मंसिर १२, २०८०

 

जाजरकोट, मङ्सिर । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।

त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट  घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ ।

अहिले यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ । जिल्लास्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्याङ्कानुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसङ्ख्या प्रभावित भएका थिए । बयालीस जनाको मृत्यु भएको थियो भने  ५५५ जना घाइते भएका थिए । 

पाँच वर्षमुनिका चार हजार  ११५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने  ६७४ गर्भवती,  २८२ सुत्केरी, दुई हजार ८३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र चार सय आठ अपाङ्गता भएका व्यक्तिसहित नौ हजार ३८० जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । 

स्वास्थ्य संस्था आठवटा पूर्णरूपमा र आठवटा आंशिकरूपमा भत्किएको पाइएको छ । कुशे गाउँपालिकामा २५ हजार ८१५ जनसङ्ख्या प्रभावित भएका थिए । सातजनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । 

पाँच वर्षमुनिका दुई हजार ९४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने  ५१५ जना गर्भवती,  २३० सुत्केरी,  ९२० ज्येष्ठ नागरिक,  २७७  दीर्घरोगी र ८८ अपाङ्गता भएका व्यक्तिसहित चार हजार  ९७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन् । पाँचवटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार छेडागाड नगरपालिकामा एक हजार ३५२ जनसङ्ख्या प्रभावित भएका थिए । एकजनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए ।

पाँच वर्षमुनिका  ३७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ८६ गर्भवती, ६६ सुत्केरी, दुई सय चार ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र नौ अपाङ्गता भएकासहित ७४३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । आठवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ । 

नलगाड नगरपालिकामा २९ हजार दुई सय नौ जनसङ्ख्या प्रभावित भएका थिए । बाउन्न जनाको मृत्यु भएको थियो भने ८६ घाइते भएका थिए । 

पाँच वर्षमुनिका तीन हजार ३३ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ३३१ गर्भवती,  ३७४ सुत्केरी, एक हजार ४८३ ज्येष्ठ नागरिक, २३४ दीर्घरोगी र २५० अपाङ्गता भएका व्यक्तिसहित तीन हजार हजार  ९४४ जना भूकम्पको प्रभावबाट जोखिममा छन् । 

एक स्वास्थ्य संस्था पूर्णरूपमा र पाँचवटा आंशिकरूपमा भत्किएको पाइएको छ । बारेकोट गाउँपालिकामा १९ हजार  ६७६ जनसङ्ख्या प्रभावित भएका थिए भने दशजना घाइते भएका थिए ।

पाँच वर्षमुनिका एक हजार ४९९ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने १८१ गर्भवती, ७५ सुत्केरी, चार सय ३९ ज्येष्ठ नागरिक,  २२३ दीर्घरोगी र ४५ अपाङ्गतासहित दुई हजार  ४१७ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । 

पूर्णरूपमा एक र आंशिकरूपमा चार स्वास्थ्य संस्था भत्किएका छन् । भूकम्पबाट शिवालय गाउँपालिका ११ हजार ८४३ जनसङ्ख्या प्रभावित भएका थिए । दुई जना घाइते भएका थिए । 

पाँच वर्षमुनिका  च ४६२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४९  गर्भवती, दुई सुत्केरी, ५१ ज्येष्ठ नागरिक, दीर्घरोगी र अपाङ्गतासहित ४४६ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । दुईवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ । 

भूकम्पबाट जुनिचाँदे गाउँपालिकामा एक हजार ९५० जनसङ्ख्या प्रभावित भएका थिए । पाँच वर्षमुनिका ७८ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४७ जना गर्भवती, ४७ सुत्केरी, ९३ ज्येष्ठ नागरिक, १८ दीर्घरोगी र २२ अपाङ्गतासहित  २८३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । पन्ध्रवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको छ ।
 
भूकम्पबाट एक लाख २८ हजार ९१७ जना प्रभावित भएको पाइएको छ । भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार दुई सय छ रहेको छ । 

पाँच वर्षमुनिका १२ हजार चार सय चार बालबालिका प्रभावित भएका छन् भने एक हजार ८८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् । त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । 

एक हजार ८३२ दीर्घरोगी, ८५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यमा छन् । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।
 
विवरण अझै सङ्कलन हुँदै 

मङ्सिर ७ गतेभित्र पालिकाले क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन ।  पालिकाले भने मङ्सिर १० गतेसम्म विवरण पठाउन समय माग गरेका थिए ।

छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्याङ्क सङ्कलन गर्न समय लागेको पालिकाका प्रमुखले बताएका छन् । 

पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क सङ्कलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन् । अबको दुई दिनभित्र सबै विवरण आउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत शर्माले बताए । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार