काठमाडौँ, कात्तिक । काठमाडौँमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै छन् ।
काठमाडौँको मूलपानी मैदानमा हुँदै आएको लिग चरणका खेलबाट शीर्ष दुईमा रहँदै नेपाल र यूएईले उपाधि भिडन्त गर्न लागेका हुन् ।
तेस्रो टिम हङकङ पुछारमा रहेपछि शीर्ष दुई टिम नेपाल र यूएईले फाइनल खेल्न लागेका हुन् । आजको फाइनल त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा हुँदैछ । खेल बिहान ११ बजेदेखि हुँदैछ ।
नेपाल यही श्रृंखलामै यूएईमाथि लगातार तेस्रो जितसहित उपाधि जित्ने लक्षमा रहेको छ । नेपालले दुवै टिमसँगका चार खेल जितेर अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो ।
यूएईले भने हङकङसँग बराबरी गरेको भए पनि रनरेटमा अगाडि रहेसँगै फाइनलमा पुगेको हो । यसअघिको खेलमा यूएईले हङकङलाई हराएको थियो भने बुधबार भएको अन्तिम खेलमा हङकङले यूएईलाई ६९ रनले हरायो ।
फराकिलो जित हासिल गरेर यूएईसँग समान २ अंक जोडेको भए पनि रनरेटमा हङकङ पछाडि परेको हो । लिग चरणमा नेपालले यूएईलाई ५ विकेटले र ७ विकेटले हराएको थियो भने हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो ।
टी–२० विश्वकप छनोटको तयारीका लागि यो श्रृंखला भइरहेको हो ।