२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एसिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

सोमवार , भाद्र १८, २०८०

काठमाडौँ, भदौ ।  एसिया कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भारतलाई २३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । उनले ९७ बलमा ८ चौका प्रहार गरे । सोमपाल कामीले ५६ बलमा २ छक्का र १ चौकासहित ४८ रन बनाए ।

त्यस्तै नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौकासहित २९ रन बनाए । 

त्यस्तै गुल्शन झाले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाए । नेपालका कप्तान रोहित पौडेल भने ५ रनमै आउट भए । रवीन्द्र जडेजाको बलमा रोहित शर्माले नेपाली कप्तान रोहितलाई क्याचआउट गरेका हुन् । त्यस्तै भीम सार्की ७ र कुशल मल्ल २ रनमा आउट भए ।

भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३र३ विकेट लिए । त्यस्तै मोहम्मद शामीले २ विकेट लिँदा शार्दुल ठाकुर, मोहम्मद शामी र हार्दिक पाण्ड्याले १(१ विकेट लिए ।

नेपालले पहिलो पटक भारतसँग एकदिवसीय खेल खेलेको हो । नेपाल र भारतबीच एसिया कपको समूह चरणको खेल नकआउट प्रवेशको समीकरण बनेको छ । सोमबारको खेल जसले जित्छ त्यही राष्ट्र नै एसिया कपको सुपर फोरमा पुग्नेछ । 

पाकिस्तान समूह ‘ए’ बाट यसअघि नै अघिल्लो चरणमा प्रवेश गरिसकेपछि नेपाल र भारतको खेल निर्णायक बनेको हो ।

नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो पाँचौं र भारतसँग पहिलो अवसर हो । एसिया कपअघि नेपालले विश्वकप छनोटमा जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग खेलेको थियो । नेपालले टेस्ट खेल्ने चार राष्ट्रविरुद्ध यसअघि खेलिएका खेलमा पराजय भोग्दै आएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार