२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

झापा  : ५३ प्रतिशत धान रोपाइँ सकियाे

आइतवार , आषाढ २४, २०८०

झापा, असार । धान खेतीका लागि उर्वरभूमि मानिने झापामा ५३ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ । कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी गणेश शिवाकाटीका अनुसार गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइँ भएको हो ।

समयमै वर्षा सुरु भएको र किसानले पाउने मलमा समेत समस्या नभएका कारण गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइँ गर्न सकिएको उहाँले बताउनुभयो । झापामा यस वर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ ।

सोमध्ये ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ । हाल दैनिक वर्षा भइरहेकाले खोला पैनीमा समेत पानीको बहाव बढेका कारण किसानलाई रोपाइँका लागि पर्याप्त पानी पुगिरहेको उहाँको भनाइ छ ।

जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायतका सिँचाइ आयोजना छन् ।

कृषि ज्ञानकेन्द्र झापाले धान खेतीमा नवीनतम मसिनरी प्रयोग कार्यक्रमअन्तर्गत कनकाई नगरपालिका र गौरादह नगरपालिकामा ३५ कट्ठा जमिनमा छरुवा धान खेतीसमेत गरिएको जानकारी दिएको छ ।

शिवाकोटीका अनुसार कनकाई नगरपालिकाको विनुबाजा कृषि सहकारी संस्थाले २५ कठ्ठा र गौरादह नगरपालिकामा रहेको महारानी झोडा कृषि सहकारी संस्थाले १० कठ्ठामा ज्ञान केन्द्रको सहयोगमा छरुवा धानको खेती गरेका छन् ।

जिल्लामा यही रफ्तारमा रोपाइँ चलेमा साउनको पहिलो हप्तासम्ममा धान रोपाइँ सकिने अनुमान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार