२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोशी प्रदेश 

जसपा सरकारबाट बाहिरियो : 'सरकार फेरबदल हुने अवस्था निर्माण'

सातवटा प्रदेशमध्ये कोशीमा मात्रै एमालेको नेतृत्वमा सरकार छ 

बुधवार , जेठ १७, २०८०

 

मोरङ, जेठ । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । जसपाले बुधबार स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएको हो । मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट कुनै निकास ननिस्कने भन्दै मन्त्री लिम्बूलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेम्जोङले बताए ।

बुधबार इटहरीमा बसेको प्रदेश समितिको बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता बोलाएको हो । कोशी नामकरणको विरोधमा भइरहेको पहिचानपक्षधरको आन्दोलनमा जसपाको समर्थन रहेको छ ।

सरकारमा पनि बस्ने, आन्दोलनमा पनि समर्थन गर्ने कुरा नमिलेको भन्दै आलोचना भइरहेका बेला जसपा सरकारबाट बाहिरिएको हो । साथै मन्त्री लिम्बूले सदनमा नामकरणका बेला विपक्षमा हस्ताक्षर नगरेकाले पनि पार्टी नेतृत्व उनीसँग असन्तुष्ट भएको बुझिएको छ ।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएकाले कारण सात वटा प्रदेशमध्ये कोशीमा मात्रै एमालेले सरकारको नेतृत्व गरिरहेको छ ।मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ ।

यस प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा –एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको १ जना प्रदेश सांसद छन् । 

माओवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा मात्रै कोशी प्रदेशमा सरकार फेरबदल हुने अवस्था निर्माण हुनेछ । तर यो अवस्थामा माओवादीबाट सभामुख भएका बाबुराम गौतम निर्णायक हुने छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार