यतिबेला देश राष्ट्रपति निर्बाचनको संघारमा छ । गणतन्त्रको स्थापनापछि यो चौथो निर्बाचन हो । राष्टको अभिभावक पद भएकाले पनि यसमा पदमा स्वतन्त्र , निष्पक्ष र राष्टवादी ब्यतित्वको सहमतीय आधारमा खोजी गर्नु स्वाभाविक हो । यसअघिको निर्बाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बन्यो । यससँगै मुुलुकी राजनीतिमा दूरगामी प्रभावका अभ्यास अगाडि बढ्दै छन् । संसद्बाट लगभग सबैजसो सांसदको विश्वासको मत प्राप्त गर्न सक्नु संसदीय अभ्यासकै नवीन कडी पनि यस पटकको सरकार गठन र श्विासको मतमा देखियो ।
विश्वासको मत प्राप्तिमा नयाँ आयाम रचेसँगै प्रधानमन्त्री प्रचण्डले देशको अहिलेको कठिन घडीको गम्भीर विश्लेषण गरेको हुनुपर्छ । त्यसैले उनले महत्त्वपूर्ण विषयमा राष्ट्रिय सहमतिको मुद्दालाई प्रमुखताका साथ अगाडि बढाए । प्रधानमन्त्रीको यो कदमलाई महत्त्वपूर्ण र दूरगामी कदम मानिँदै छ । अहिले राष्टपति निर्बाचनमा देखिएको सहमतीय संस्कृतिको सोच दलहरुले ल्याएका छन । आठदले मिलेर राष्टपति चयन गर्ने जुन अभ्यासको पहल भएको छ , त्यो राष्टका निम्ति सराह्रनीय स काम हो । यसले राजनीतिक संस्कृतिमा विश्वासको वातावरण सृजना भई देशलाई अग्रगमनतर्फको बाटोतर्फ लैजान सहयोग पुग्दछ ।
नेपालजस्तो मुलुकमानिम्ति यो कठिन अवस्थामा राष्ट्रिय सहमतिले महत्त्व राख्दछ । र, समयक्रमले राष्ट्रिय सहमतिको मुद्दालाई अगाडि बढाउन निकै सहज बनाउँछ । राष्ट्रप्रमुख सहमतिबाटै हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको पनि दृढ अडान र पहल देखिएको छ । यसलाई इतिहासले रेखाङ्कन गर्नसक्ने गरी अगाडि बढ्दै छ । गत मङ्सिरमा सम्पन्न आमनिर्वाचनमा कुनै एक राजनीतिक दललाई बहुमत प्राप्त नभएर सबै दलबीच राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने जनादेश प्राप्त भएको तथ्य सर्वविदितै छ । यसैबीच विकसित राजनीतिक घटनाक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अग्रसरतामा सात दलीय गठबन्धनसहित सरकार गठन भयो । नेकपा (माओवादी केन्द्र)लाई प्रधानमन्त्री, नेकपा (एमाले) लाई सभामुखलगायत अन्य पार्टीलाई यथाहैसियत महत्त्वपूर्ण राजकीय पद प्राप्त भएको अवस्थामा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति पदको दाबी गर्नु कुनै अर्घेलो थिएन ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदमा राष्ट्रिय सहमतिबाटै निकास निकाल्नुपर्ने पहल गरे । त्यसै क्रममा मनोनयनको एक दिनअघि आठ राजनीतिक दलको समर्थनमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने सहमति विकास भयो । त्यसै क्रममा नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगाडि सारेको छ । राष्ट्रपति निर्वाचन आउन केही दिन बाँकी छ र सहमति कार्यान्वयनले देश र जनताका हितका बिषयमा भूमिका निर्बाह गर्ने पक्का छ । र, पछिल्लो विकसित राजनीतिक घटनाक्रम सन्तोषजनक र परिपक्व देखिन थालेका छन । विकसित घटनाअनुसार राष्ट्रिय सहमतिको धारणालाई मूर्त रूप दिँदै संसद्मा प्रतिनिधित्व गर्ने आठ दलको गठबन्धनले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय प्रधानमन्त्री प्रचण्डको प्रयासकै प्रतिफल हो । नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र) , नेकपा (समाजवादी केन्द्र) , जनता समाजवादी पार्टीलगायतका अन्य दल यो गठबन्धनमा सहभागी छन् ।
विश्व राजनीति तथा हाम्रो भूराजनीतिक अवस्थाका कारण महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति आजको प्रमुख आवश्यकताका रूपमा स्थापित भएको छ । यस अवस्थामा आठ राजनीतिक दलबाट राष्ट्रिय सहमतिका लागि भएको यत्नलाई प्रशंसनीय मान्न सकिन्छ । राष्ट्रिय सहमतिमा धेरैभन्दा धेरै राजनीतिक दललाई सहभागी गराउन सकिए यसको महत्त्वमा थप वृद्धि हुन सक्छ ।
राष्ट्रिय सहमतिको अर्थ राष्ट्रपति, उपराष्ट्रपतिलगायतका महत्त्वपूर्ण पद बाँडफाँटको विषय मात्र होइन, यसमा राष्ट्रिय स्वार्थलाई सर्वोपरि स्थानमा राखेर राष्ट्र तथा राष्ट्रवासीको हितलाई मूल मुद्दा बनाइनुपर्दछ । यस अवस्थामा महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दलको सहमति हुनसके राष्ट्रले हरेक क्षेत्रमा प्रगति गर्न सक्नेछ । विगतमा राष्ट्रिय मुद्दाहरूमा राष्ट्रिय सहमति हुन नसक्दा मुलुकका निम्ति कतिपय अवसर खेर गएका छन् । सहमतिले साकार रूप दिँदा सफलता हात लागेकोसमेत छ ।