२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रधानमन्त्री फुमियो - राष्ट्रपति बाइडेन भेट

अमेरिका - जापान :  " चीनविरुद्धको गठबन्धनलाई बलियो बनाउँदै"

राष्ट्रपति बाइडेनबाट जापानको नयाँ राष्ट्रिय सुरक्षा रणनीति, राष्ट्रिय रक्षा रणनीति र रक्षा कार्यक्रमको प्रशंसा

शनिवार , पौष ३०, २०७९


वाशिङ्टन,  पुस । इन्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी  राष्ट्रपति बाइडेनसँग भेट गरेका छन । 
सो अवसरमा दुई देशबीचको गठबन्धनलाई थप बलियो बनाउने विषयमा सहमति भएको बताइएको छ । दुवै पक्षले सुरक्षा रणनीतिबारे छलफल गरेको जापानको एनएचके वर्ल्डले उल्लेख गरेको छ।
ह्वाइट हाउसमा भएको भेटमा प्रधानमन्त्री किशिदा - राष्ट्रपति बाइडेनबीच दुई घन्टा लामो कुराकानी भएको थियो ।  सो वार्तामा किशिदाले जापानले आफ्नो सुरक्षा रणनीतिमा उल्लेखनीय परिवर्तन गरेको बताएका  थिए।   
सो  परिवर्तित  नीतिहरूमा उल्लेख्य रूपमा रक्षा बजेटमा वृद्धि र काउन्टर स्ट्राइकको योजना लगायतका विविध विषय समावेश छन् । 
क्षेत्रीय शान्ति र सुरक्षा कायम गर्न जापानी प्रधानमन्त्रीले जापानको सुरक्षा रणनीतिमा जोड दिएकाले सुरक्षा वातावरण पहिलेभन्दा धेरै गम्भीर र जटिल भएको उल्लेख गरेकाे  एनएचके वर्ल्ड  उल्लेख गरेको छ ।
राष्ट्रपति बाइडेन र जापानी प्रधानमन्त्रीले ताइवान स्ट्रेटमा द्वन्द्वबाट बच्न आफ्नो प्रतिबद्धता दोहोर्याएको बैठकपछि व्हाइट हाउसले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा जनाइएको छ । 
'हामी ताइवानमा हाम्रा आधारभूत अडानहरू अपरिवर्तित रहने कुरामा जोड दिन्छौं साथै  अन्तरराष्ट्रिय समुदायमा सुरक्षा र समृद्धिको अपरिहार्य तत्त्वको रूपमा ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम राख्ने महत्त्वलाई दोहोर्याउँदछौं,' ह्वाइट हाउसले भनेको छ ।  
अगस्टको शुरुमा अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले चीनलाई आक्रोशित पार्दै ताइवानको भ्रमण गरेपछि ताइवान वरपरको स्थितिमा सुरक्षा संवेदनशीलता बढेको थियो।  यसैगरी पछिल्ला महिनाहरूमा फ्रान्स, जापान र अन्य पश्चिमी देशहरूले पनि यस टापुमा आफ्ना प्रतिनिधिमण्डल पठाएर  सुरक्षा संवेदनशीलतालाई  थप पेचिलो बनाएका थिए ।
ह्वाइट हाउसको विज्ञप्ति अनुसार राष्ट्रपति बाइडेनले जापानको नयाँ राष्ट्रिय सुरक्षा रणनीति, राष्ट्रिय रक्षा रणनीति र रक्षा निर्माण कार्यक्रमको पनि प्रशंसा गरेका छन्। 
यसै बीच कोभिड-१९ महामारी लगायतका  विषयमा पर्याप्त र पारदर्शी डेटा उपलब्ध गराएर   विश्वभरका जनस्वास्थ्य अधिकारीहरूलाई मद्द्त गर्न पनि अमेरिका र जापानका नेतद्वयले चीनलाई विशेष आग्रह गरेका छन् ।  
विज्ञप्तिमा भनिएको छ ' हामी चीनलाई कोभिड-१९ को फैलावट सम्बन्धी पर्याप्त पारदर्शी एपिडेमियोलोजिकल र भाइरल जीनोमिक अनुक्रम डेटा  सार्वजनिक गर्न पनि आह्वान गर्दछौं ।'  
जसले विश्वभरका जनस्वास्थ्य अधिकारीहरूलाई महामारिको फैलावट कम गर्न र कुनै पनि सम्भावित नयाँ भेरियन्टहरू पहिचान गर्न सहयोग पुर्याउँने छ । रासस / एएनआई

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार